कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

म्यान्मारको प्रदर्शनमा २ को मृत्यु

दोस्रो ठूलो सहर म्यान्डलेमा शनिबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा २० जना घाइते
रोयटर्स

म्यान्डले — म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

म्यान्मारको प्रदर्शनमा २ को मृत्यु

फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेको विरोधमा शनिबार म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो । सैनिक ‘कु’ को विरोधमा लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका छन् ।

राजधानी नेइपिडअ, यांगुन, म्यान्डलेलगायत सहरमा ‘कु’ को विरोधमा शनिबार प्रदर्शन गरिएको थियो । दोस्रो ठूलो सहर म्यान्डलेमा शनिबार भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो । त्यस क्रममा प्रहरीले गोली चलाएको मानवअधिकारवादीलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘२० जना घाइते भएका छन् र दुई जनाले ज्यान गुमाए,’ स्वयंसेवक सेवा संस्थाका नेता को आङले भने । एक चिकित्सकका अनुसार मृतकमध्ये एक जनालाई टाउकोमा र अर्कोलाई छातीमा गोली लागेको हो । यद्यपि प्रहरीले घटनाबारे केही उल्लेख गर्न नचाहेको रोयटर्सले जनाएको छ ।

म्यान्मारको सेनाले भने प्रदर्शनका क्रममा भएको हिंसाका कारण एक जना प्रहरीको ज्यान गएको जनाएको छ । म्यान्मारको राजधानी नेइपिडअमा शुक्रबार भएको प्रदर्शनका क्रममा एक जना युवाको मृत्यु भएको थियो । फेब्रुअरी १ यताका विरोधमा सहभागी कम्तीमा ५ सय ४६ जना पक्राउ परिसकेका छन् । तीमध्ये ४६ जनालाई शुक्रबार रिहा गरिएको राजनीतिक बन्दीका लागि सहयोगी संघले जनाएको छ ।

प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । उनीहरूले सुचीसहित सबै नेताहरूलाई तत्काल रिहा गर्न र नोभेम्बरमा भएको चुनावी परिणाम स्वीकार गर्नुपर्ने माग राखेका छन् । विरोध चर्कँदै गएपछि गतसाता सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजायका साथै जरिवाना गरिने चेतावनीसमेत दिएको थियो ।

नोभेम्बरको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर सेनाले चुनावमा धाँधली दाबी गर्दै सत्ता हातमा लिएको हो । सेना प्रमुख मिन आङ ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

गत मंगलबार सेनाले सुचीलाई अदालतसमक्ष पेस गर्दा दोस्रो अभियोग लगाएपछि विरोध थप चर्केको थियो । प्रदर्शनकारीहरूले ‘हाम्रा नेता रिहा गर’, हामी न्यायको पक्षमा छौं,’ ‘गैरकानुनी पक्राउ रोक’ लगायतका नारा लगाउँदै आएका छन् । सुचीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण वाकीटाकी राखेको अभियोग लगाएको सैनिक सरकारले मंगलबार प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग थपेको हो ।

अमेरिका, बेलायत, क्यानाडा, न्युजिल्यान्डलगायत देशले सेनालाई आफ्नो कदम फिर्ता लिन चेतावनी दिइसकेका छन् । उनीहरूले नेतृ सुची, राष्ट्रपति विन मिन्टसहित जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न दबाब दिँदै वरिष्ठ सैनिक अधिकारीहरूमाथि प्रतिबन्धसमेत लगाइसकेका छन् । ती राष्ट्रहरूले त्यस्ता प्रतिबन्ध सैनिक अधिकारीहरू, उनीहरूका परिवारका सदस्यप्रति लक्षित रहेको जनाएका छन् ।

त्यस्तै अमेरिका राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघले ‘लोकतन्त्रको पक्षधर म्यान्मारवासीमाथिको दमन अस्विकार्य रहेको’ बताउँदै आएका छन् । उनीहरूले ‘म्यान्मारका जनताको आवाज विश्वले नियालिरहेको’ जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले गतसाता आफ्नो देशमा रहेको एक अर्ब डलरबराबरको म्यान्मारको सरकारी कोषमा सेनाको पहुँच रोक्ने जनाएका थिए ।

म्यान्मारको म्यान्डलेमा शनिबार गरिएको प्रदर्शनका क्रममा घाइते भएकाको उद्धार गरिँदै । तस्बिर : एपी

प्रकाशित : फाल्गुन ८, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?