काबुलमा विस्फोट पाँचको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुलमा विस्फोट पाँचको मृत्यु

रासस/सिन्ह्वा

काबुल — अफगानस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो भने तेस्रो विस्फोटन शनिबार बिहान १०:२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

जसलाई बढायो सुन्दर खबटाले ज्यानको संकट

सन्दर्भ: विश्व सालक दिवस
२०६९ देखि २०७७ को कात्तिकसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न स्थानमा सालकसम्बन्धी ३९ वटा अपरेसन गरेको छ । त्यसमा ७९ जना पक्राउ परेका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — सालक लजालु हुन्छ । यसले मानिसलाई कुनै हानि नोक्सानी गर्दैन । यो वन्यजन्तु खबटाका कारण संकटमा छ । यसको चोरीसिकार र अंगको व्यापार बर्सेनि विश्वभर बढिरहँदा संरक्षणकर्मीबीच चिन्ता छ ।

अफ्रिका र एसियामा बर्सेनि एक लाख सालकको चोरीसिकार हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले पनि पछिल्लो समय सालक सबैभन्दा बढी ओसारपसार र बिक्री हुने स्तनधारी वन्यजन्तुको सूचीमा राखेको छ ।

पछिल्लो एक दशकमा विश्वमा १० लाख सालक मारिएको अनुमान छ । बढ्दो व्यापारका कारण यो स्तनधारी संकटमा पर्ने देखिएपछि दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रणसम्बन्धी महासन्धि (साइटिस) ले यसलाई अनुसूची २ बाट १ मा राखेको छ । नेपालमै पनि यसको व्यापार बढिरहेको यसमा अनुसन्धानकर्ता बताउँछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार २०६९ देखि २०७७ को कात्तिकसम्म विभिन्न स्थानमा सालकसम्बन्धी ३९ वटा अपरेसन भएको छ । त्यसमा ७३ पुरुष र ५ महिला पक्राउ परेका छन् ।

‘काठमाडौंमै धेरै कारोबार हुने गरेको देखिन्छ,’ सीआईबीका प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहरी भन्छन्, ‘काठमाडौंलाई ट्रान्जिट बनाएर तस्करहरूले सालक ओसारपसार गरिरहेका छन् ।’

पुच्छरको सहायताले रूखको हाँगामा झुन्डिन सक्ने यो स्तनधारी जन्तुको मुख्य आहारा कमिला, धमिरा र जमिनभित्र पाइने कीरा हुन् । खबटाका लागि सालक मारिने क्रम बर्सेनि बढेसँगै जोगाउने अभियान पनि चलिरहेको छ ।

८ वर्षको बीचमा सीआईबीले काठमाडौंमा मात्र २५ वटा अपरेसन गरेको छ । काठमाडौंसहित भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, दोलखा, नुवाकोट, चितवन र बाँकेबाट ७८ जनालाई पक्राउ गरेर प्रहरीले वन कार्यालयलाई बुझाएको थियो ।

सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरका सम्पूर्ण भाग खबटाले ढाकेको हुन्छ । त्यही खबटाका लागि यसको चोरीसिकार हुन्छ । पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्ने यो स्तनधारीको मुख्य आहार कमिला, धमिरा र जमिनभित्र पाइने कीरा हुन् ।

अनुसन्धानकर्ताहरूका अनुसार नेपालका विभिन्न नाका भएर सालकका खबटा तिब्बततिर तस्करी हुने गरेको छ । नेपालसहित एसियामा चाइनिज, सुन्डा, इन्डियन र फिलिपिनो गरी चार प्रजातिका सालक पाइन्छन् ।

सालकमा विद्यावारिधि गरिरहेकी तुलसीलक्ष्मी सुवाल कोभिडकालमा सालक तस्करीको गतिविधि झन् बढेको बताउँछिन् । ‘जनचेतनाको अभावले गाउँघरमा सालक मार्ने र मासु खाने चलन पहिलेदेखिकै हो,’ उनले कान्तिपुरसित भनिन्, ‘खबटाका लागि यसको अवैध सिकार बढेको छ ।’

२०६९ देखि २०७७ कात्तिकसम्म सीआईबीको अपरेसन

  • सालक अपरेसन संख्या– ३९
  • पक्राउ संख्या– ७९
  • जीवित सालक उद्धार– ४ वटा
  • बरामल खबटा– २३७ किलो, ६५६ ग्राम
  • खबटासहित छाला थान– १०
  • मृत सालक– १

सालकमै विद्यावारिधि गरिरहेका राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का अम्बिका खतिवडा बढ्दो अवैध सिकार, बासस्थान क्षयीकरण, कानुन कार्यान्वयनमा कमजोरी र जनचेतना अभाव सालकको मुख्य चुनौती भएको बताउँछन् । ‘बढ्दो जनसंख्या, मानवीय क्रियाकलाप र विकास निर्माणका लागि भइरहेको दोहनका कारण यसको बासस्थान खलबलिरहेको छ,’ उनी भन्छन्, ‘कृषिमा रासायनिक मलको प्रयोगले पनि आहारमा चुनौती थपिएको छ ।’ माटोमा प्वाल पारेर बस्ने सालक तराईदेखि ३ हजार मिटर उचाइसम्मका भूभागमा पाइन्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारीसमेत रहेका इकोलोजिस्ट हरिभद्र आचार्य सानो क्षेत्रमा बस्ने र संरक्षित क्षेत्रबाहिर छरिएर रहेको जीव भएकाले पनि ठूला प्रजाति (बाघ, गैंडा, हात्ती) मा जस्तो फोकस भएर काम गर्न नसकिएको बताउँछन् । ‘काम गर्नुपर्ने साना स्तनधारी प्रजाति धेरै छन्,’ उनी भन्छन्, ‘सालकबारे बल्ल अलि–अलि अध्ययन हुन थालेको छ । काम सुरु भएकाले यसको समस्या पहिचान गर्न सकिएको हो ।’

सालकको खबटा परम्परागत चिनियाँ औषधिमा प्रयोग गरिन्छ । ‘त्यसैका लागि विश्वभर यसको अवैध सिकार हुन्छ,’ खतिवडाले भने, ‘नेपालकै विभिन्न नाकाबाट पनि सालक तस्करी हुने गरेको छ । यसमा ठूलै गिरोह सक्रिय छन् ।’ यसको कारोबारमा लागेका गिरोह पनि बाघ र गैंडामा जस्तै खुंखार र अनुभवी भएको अनुसन्धानकर्ताहरूको बुझाइ छ ।

सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी हुँदै तिब्बततिर तस्करी गर्ने क्रममा सालकका खबटा पटक–पटक बरामद भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार ‘चाइनिज पेन्गोलिन’ र एसियामै पाइने अर्को प्रजाति ‘सुन्डा पेन्गोलिन’ गम्भीर जोखिममा छन् ।

‘वाइल्डलाइफ जस्टिस कमिसन’ ले सन् २०१६ देखि २०१९ सम्म गरेको अध्ययनले पनि विश्वमा सालकको व्यापार उकालो लागिरहेको देखाएको छ । उक्त अध्ययनअनुसार नाइजेरियामा त्यस अवधिमा १ लाख १२ हजार १ सय ३०, भियतनाममा ७५ हजार २ सय ८५, चीनमा ५४ हजार ४ सय ५९, सिंगापुरमा ४५ हजार ३ सय १३ किलोग्राम सालकको खबटाको कारोबार भएको छ । यस्तै, हङकङमा ४१ हजार २ सय ३०, गणतन्त्र कंगोमा ३१ हजार ६ सय, क्यामरुनमा १६ हजार ७ सय ३८, मलेसियामा १३ हजार ७ सय २९, दक्षिण कोरियामा १० हजार ६ सय ५० र लाओसमा ६ हजार ३ सय किलोग्राम खबटा कारोबार भएको देखिन्छ ।

विश्वभर नै सालकको व्यापार बढेकै कारण आईयूसीएनको विज्ञ समूहले सन् २०१२ देखि फेब्रुअरी महिनाको तेस्रो शनिबारलाई विश्व सालक दिवसका रूपमा मनाउन थालेको छ । सालकमा काम गर्ने अनुसन्धानकर्ताहरूको अगुवाइमा नेपालमा पनि यसबारे सचेतना जगाउन तथा सरकारको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रम गर्न थालिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा सालक संरक्षित वन्यजन्तुमा पर्छ । संरक्षित वन्यजन्तु मार्ने, घाइते बनाउने, खरिद–बिक्री तथा ओसारपसार गर्ने तथा आखेटोपहार राख्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्म कैद वा ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तस्बिरहरुः तुल्सिलक्ष्मी सुवाल

प्रकाशित : फाल्गुन ८, २०७७ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×