गलवान झडपमा आफ्ना ४ जना सैनिक मारिएको चीनद्वारा स्वीकार- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गलवान झडपमा आफ्ना ४ जना सैनिक मारिएको चीनद्वारा स्वीकार

इकान्तिपुर डेस्क

काठमाडौँ — चीनले पहिलो पटक गत वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय सेनासँगको झडपमा परी आफ्ना ४ जना सैनिक मारिएको स्वीकार गरेको छ ।

चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक अखबार पीएलए डेलीलाई उद्धृत गर्दै झडपमा चिनियाँ सैनिकको मृत्युको बारेमा जानकारी दिएको हो । ग्लोबल टाइम्सका अनुसार पीएलए डेलीले ‘आफ्नो सम्प्रभुता रक्षाका क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै मृत्यु भएका सैनिकका बारेमा जानकारी खुलाएको छ । चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा ५ जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट सम्मानित गरिएको पीएलएले जानकारी गराएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । झडपमा परी ४ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

रिपोर्टमा पहिलो पटक चिनियाँ सेनाले गलवान झडपका बारेमा विस्तृत जानकारी दिएको छ । ‘त्यहाँ भारतीय सैनिक ठूलो संख्यामा उपस्थित थिए । उनीहरुले चिनियाँ सेनालाई पछाडि हट्न बाध्य पारेका थिए,’ रिपोर्टमा भनिएको छ । चिनियाँ सेनाले स्टिलको रड, किला र पत्थरबाट आक्रमण गरी मुलुकको सम्प्रभुता जोगाएको पनि पीएलएले उल्लेख गरेको छ ।

पीएलए डेलीको रिपोर्टमा लेदिएको छ, ‘२०२० को अप्रिलपछि विदेशी सेनाले सम्झौताको उल्लंघन गऱ्यो । सीमाको यथास्थिति परिवर्तन हुने गरी सडक र पुल बनाउँदै सीमा पार गरी उनीहरुले उक्साउने काम गरे । कुराकानी गर्न भनेर पठाइएका उनीहरुले चिनियाँ सेनामाथि आक्रमण पनि गरेका थिए ।’

अखबारले एक सैनिक चेन सियाङरोङको डायरी पनि उद्धृत गर्दै लेखेको छ, ‘दुश्मनको संख्या निकै धेरै रहेको सैनिकले आफ्नो डायरीमा लेखका छन् । उनले भनेका छन्, ‘तर हामीले घुँडा टेकेनौं, ढुंगाले हानेर उनीहरुलाई हामीले भगायौं ।’

गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।

दुई देशका सेनाबीचको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । फाइल तस्बिर : रोयटर्स

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो ।

तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

विश्‍वका १० मुलुकसँग ७५ प्रतिशत कोरोना खोप : महासचिव गुटेरस

‘कोरोना खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा’
इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना भाइरसविरुद्धको खोपको असमान वितरण भइरहेको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कडा आलोचना गरेका छन् । 

महासचिव गुटेरसले कोरोनाविरुद्धको खोप अभियान असमान र अनुचित भएको भन्दै आलोचना गरेका हुन् । उनले कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशले नियन्त्रण गरेको बताएका छन् ।

बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले भने, ‘विश्वमा अहिले पनि १३० मुलुक यस्ता छन्, जहाँ अहिलेसम्म कोरोनाको एक डोज खोप उपलब्ध गराइएको छैन ।’ उनले कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा भएको बताए ।

महासचिव गुटेरसले आपत्कालीन खोप अभियान सबै मिलेर सुरु गर्नुपर्नेमा पनि जोड दिएका छन् । खोपको समान वितरण सुनिश्चित गर्न पनि विश्व समुदायलाई उनले अनुरोध गरेका छन् । जी–२० का ठूला अर्थतन्त्र भएका मुलुकहरूले खोप अभियानका लागि एउटा आपत्कालीन टास्क फोर्स गठन गर्नुपर्ने पनि उनले बताए । त्यस्तो टास्क फोर्समा औषधि निर्माता कम्पनीलाई समेट्न र विश्वका सात ठूला औद्योगिक देशले यसमा स्रोत जुटाउनपर्नेमा पनि महासचिव गुटेरसले जोड दिएका छन् ।

सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका बेलायतका विदेशमन्त्री डोमिनिक राबले संघर्ष जारी रहेका क्षेत्रमा युद्धविराम गराइएमा खोप पुऱ्याउन कुनै समस्या नरहेको बताएका छन् । बेलायतले करिब १६ करोड मानिस खोप अभियानको दायराबाट बाहिर रहने अवस्था रहेको बताएको छ । कुनै न कुनै रुपको हिंसात्मक गतिविधिका कारण विश्वका विभिन्न क्षेत्रका १६ करोड मानिस खोप अभियानबाट वञ्चित हुन सक्ने देखिएको हो । यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपियाजस्ता मुलुकमा द्वन्द्व जारी रहेकाले खोप अभियानमा चुनौती देखापर्ने सम्भावना रहेको हो ।

ब्लूमबर्ग भ्याक्सिन ट्रयाकरको तथ्यांकअनुसार अहिलेसम्म विश्वका विभिन्न ८२ देशमा कोरोना खोप लगाउन सुरु गरिएको छ । इतिहासकै सबैभन्दा ठूलो खोप अभियानका रुपमा रहेको कोरोना खोप अहिलेसम्म करिब १८ करोड मानिसलाई लगाइएको छ । अमेरिकामा मात्रै ५ करोड ७० लाख डोज लगाइएको ब्लूमबर्गको तथ्यांकले देखाएको छ ।

फाइजर–बायोएनटेक, मोडर्ना, एस्ट्राजेनेका–अक्सफोर्ड, गामालेय, र सिनोभ्याकलगायतका कम्पनीले बनाएको कोरोना खोप अहिले प्रयोगमा ल्याइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×