कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

म्यान्मारका सडकमा गाडी तेर्स्याएर प्रदर्शन

एजेन्सी

यांगुन — म्यान्मारका लोकतन्त्र पक्षधर प्रदर्शनकारीहरूले यांगुनको सडकमा गाडी तेर्साएर सैनिक ‘कु’ को विरोध गरेका छन् । यांगुनमा बुधबार गरिएको प्रदर्शन फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेयताकै सबैभन्दा ठूलो भएको आयोजकहरूले बताएका छन् । बुधबारका प्रदर्शनमा दसौं हजार मानिस भेला भएका थिए ।

म्यान्मारका सडकमा गाडी तेर्स्याएर प्रदर्शन

प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । बुधबारको प्रदर्शनले म्यान्मारकै ठूलो सहर यांगुनको ट्राफिक व्यवस्था निकै प्रभावित भएको थियो । सुचीलाई सेनाले दोस्रो मुद्दा लगाएपछि प्रदर्शनकारीले नयाँ शैलीमा विरोध जनाएका हुन् ।

आयोजकहरूले सरकारी कर्मचारीलाई काममा जानबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत ‘ब्रोकन डाउन कार’ आन्दोलन आह्वान गरिएको बताएका छन् । त्यस्ता प्रदर्शनमा चिकित्सक, शिक्षक तथा अन्य क्षेत्रका कामदारहरूले समर्थन जनाएका बताइएको छ ।

बुधबार यांगुनका साथै राजधानी नेइपिडअ, म्यान्डलेलगायत सहरमा ‘कु’ को विरोधमा प्रदर्शनहरू भएका छन् । प्रदर्शन बढ्दै गएपछि मुख्य सहरका सडकहरूमा सुरक्षाकर्मी थप गरिएको जनाइएको छ । विरोधमा उत्रेकाहरूले ‘हाम्रा नेतालाई रिहा गर’, हामी न्यायको पक्षमा छौं,’ ‘गैरकानुनी पक्राउ बन्द गर’ लगायत नारा लगाउँदै आएका छन् ।

मंगलबार सेनाले सुचीलाई अदालतसमक्ष पेस गर्दा दोस्रो अभियोग पनि लगाएको थियो । उनलाई भिडियोमार्फत सैनिक सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनीलाई गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको अभियोग लगाइएको थियो । तर मंगलबार उनलाई प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग थपिएको हो । सुचीमाथि अभियोग थपेसँगै सेनाले म्यान्मारमा एक वर्षभित्र चुनाव गराउने दाबी दोहोर्‍याएको छ । सेनाले शासनसत्ता हातमा लिएपछि लोकतन्त्र पक्षधरले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सुचीसहित सबै नेताहरूलाई तत्काल रिहा गर्न र नोभेम्बरमा भएको चुनावी परिणाम स्वीकार गर्नुपर्ने माग राखेका छन् । विरोध चर्कँदै गएपछि सोमबार सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजायका साथै जरिवाना गरिने चेतावनी दिएको थियो ।

नोभेम्बरको भएको चुनावमा सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ८० प्रतिशतभन्दा बढी मत ल्याएको थियो । तर सेनाले चुनावमा धाँधली दाबी गर्दै सत्ता हातमा लिएको हो । सेना प्रमुख मिन आङ ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सुची, राष्ट्रपति विन मिन्टसहित जननिर्वाचित नेताहरूलाई तत्काल रिहा गर्न चेतावनी दिएका छन् । उनले सैनिक कदम सच्याउन प्रयास स्वरूप आवश्यक परेको भन्दै वरिष्ठ सैनिक अधिकारीविरुद्ध प्रतिबन्धको घोषणासमेत गरिसकेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त प्रतिबन्ध सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार–व्यवसायप्रति लक्षित छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?