कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु

रासस/एएफपी

टोकियो — जापानले कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ ।

जापानमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान सुरु भएको हो ।

टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकी जापानमा खोप लगाउने पहिलो व्यक्ति भएका छन् । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोना भाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए । उनले भने, 'खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।'

जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्‍चारमाध्यमका अनुसार खोप लगाइएका व्यक्तिमा कुनै नकारात्मक असर हुने, नहुने बारेमा तीन हप्तासम्म अध्ययन गरिनेछ । त्यसपछि मार्चदेखि अरु ३७ लाख स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी सरकारको छ । अप्रिलदेखि ६५ वा सोभन्दा बढी उमेरका तीन करोड ६० लाख व्यक्तिलाई खोप दिइने छ ।

खोप अभियानको व्यवस्थापन गरिरहनु भएका जापानका मन्त्री तारो कोनोले आमजनतालाई खोप दिने बारेमा अझै समय नतोकिएको बताए । उनले जापानका लागि आवश्यक कोभिड–१९ खोपका लागि तीन वटा प्रमुख फर्मास्युटिकल फर्मसँग सम्झौता भइसकेको जानकारी दिए । हालसम्म जापानले फाइजरको खोपलाई मान्यता दिएको छ, तर एस्ट्राजेनेकाले पनि स्वीकृतिका लागि निवेदन दिएको छ ।

जापानमा कुनै पनि खोपको स्वीकृति प्रक्रिया निकै सुस्त हुने गरेको छ किनभने खोप स्वीकृत गर्नुअघि देशभित्रै परीक्षण गरेको हुनु पर्ने व्यवस्था छ ।

बेलायत वा संयुक्त राज्य अमेरिकाको तुलनामा जापानमा कोरोना भाइरसको संक्रमण कमै देखिएको थियो । जापानमा करिब चार लाख १८ हजार संक्रमित हुनुका साथै करिब ७ हजारको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?