संसद् भवनमा भएको ‘बलात्कार प्रकरण’मा अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

एजेन्सी

सिड्नी — अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पूर्वराजनीतिक सल्लाहकार ब्रिटानी हिगिन्ससँग माफी मागेका छन् । हिगिन्सले अस्ट्रेलियाको संसद् भवनमा सहकर्मीबाटै आफू बलात्कृत भएको आरोप लगाएकी थिइन् ।

संसद् भवनमा भएको ‘बलात्कार प्रकरण’मा अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

प्रधानमन्त्री मोरिसनले हिगिन्ससँग माफी माग्दै घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् । हिगिन्सले सन् २०१९ को मार्चमा रक्षामन्त्री लिन्डा रेनोल्ड्सको कार्यालयमा आफूमाथि हिंसा भएको बताएकी छिन् । दोषीको नाम नखुलाए पनि प्रधानमन्त्री मोरिसनको सत्तारुढ लिबरल पार्टीकै सदस्य भएको उनको आरोप छ ।

सोमबार स्थानीय टेलिभिजलाई अन्तवार्ता दिँदै उनले भनिन्, ‘मैले २०१९ को अप्रिलमै प्रहरीलाई यस बारेमा कुराकानी गरेकी थिएँ । तर मैले आफ्नो जागिरको चिन्ताले पहिले कार्यालयमा नै यसबारेमा जानकारी दिने सोचेँ । मलाई डर थियो, कतै मेरो जागिर त जाँदैन भन्ने ।’

उनले उक्त घटनाका बारेमा रक्षामन्त्रीलाई जानकारी पनि भएको बताइन् । रेनोल्ड्सले पनि सोमबार यसबारेमा प्रतिक्रिया दिँदै घटनाबारे आफूलाई जानकारी भए पनि प्रहरीकहाँ उजुरी गर वा नगर भनेर कुनै दबाब नदिएको बताएकी छिन् ।

प्रधानमन्त्री मोरिसनले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै भनेका छन्, ‘पहिलो कुरा त यस्तो घटना हुनै हुँदैनथ्यो । म त्यसका लागि माफी माग्न चाहन्छुु । हामी महिलाहरु कार्यस्थलमा सुरक्षित भन्ने सुनिश्चित गर्न चाहन्छौं । त्यसका साथै सिस्टममाथि भरोसा होस भन्ने पनि हो । आजको दिनमा पनि एक महिलाले यस्तो अवस्थाको सामना गर्नुपऱ्यो, यो निकै दु:खद कुरा हो ।’

प्रकाशित : फाल्गुन ४, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?