ट्रम्पविरुद्धको महाअभियोग विफल

रिपब्लिकन दलका ७ सिनेटरले महाअभियोगका पक्षमा मत दिए पनि पारित हुन १० मत पुगेन
एजेन्सी

वासिङ्टन — अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग पारित गर्न आवश्यक मत जुटाउन असफल भएको छ ।
रिपब्लिकन दलका ७ जनासहित बहुमत सिनेटहरू महाअभियोगका पक्षमा रहेका भए पनि प्रस्ताव पारित हुन १० मत अपुग भएको हो । सिनेटमा भएको मतदानमा महाअभियोगका पक्षमा ५७ र विपक्षमा ४३ सिनेटर उभिएका हुन् ।

ट्रम्पविरुद्धको महाअभियोग विफल

ट्रम्पविरुद्धको महाअभियोग पारित हुनका लागि ६७ मत आवश्यक पर्थ्यो । माथिल्लो सदन सिनेटमा दुवै दलका ५०/५० सदस्य छन् । पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनले यसअघि नै महाअभियोग पारित गरिसकेको थियो । तल्लो सदनमा डेमोक्रेटको बहुमत रहेको छ ।

अमेरिकी संसद् भवनमा भएको आक्रमणका लागि ट्रम्पले ‘आफ्ना समर्थकलाई उक्साएको’ भन्दै उनीमाथि महाअभियोग लगाइएको थियो । यो ट्रम्पविरुद्ध लगाइएको दोस्रो महाअभियोग थियो । ट्रम्प समर्थकले जनवरी ६ मा वासिंटनस्थित क्यापिटल हिल भवनमा आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थले क्यापिटल हिलमा आक्रमण गरेका थिए ।

ट्रम्प समर्थकको आक्रमणका क्रममा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरू भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो अनुसन्धानपछि आक्रमणमा संलग्न रहेको आरोपमा २२१ जनाविरुद्ध मुद्दा चलाइएको अधिकारीहरूले जनाएका छन् । पूर्वराष्ट्रपति ट्रम्प भने सुनुवाइमा अनुपस्थित भएका थिए ।

अभियोगमुक्त भएपछि पूर्वराष्ट्रपति ट्रम्पले महाअभियोग सुनुवाइ ‘इतिहासकै सबैभन्दा नराम्रो कारबाही’ भएको बताएका छन् । उनीविरुद्धको महाअभियोग पारित भएको भए सिनेटले उनलाई राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्न रोक्न सक्ने व्यवस्था रहेको थियो ।

मतदानपछि सिनेटमा रिपब्लिकन दलका वरिष्ठ सदस्य मिच मककोनेलले ‘ट्रम्प क्यापिटल भवनमा भएको हमलाका लागि जिम्मेवार’ भएको जनाउँदै उक्त कदम जिम्मेवारीको निकै घिनलाग्दो अवमूल्यन’ भएको बताए । त्यसअघि उनले महाअभियोगको विरुद्धमा मत दिएका थिए ।

ट्रम्प हाल राष्ट्रपति नरहेका कारण उनीमाथि महाअभियोग लगाउने काम असंवैधानिक हुने उनको दाबी थियो । ट्रम्पको महाअभियोग सुनुवाइ उनको कार्यकाल सकिएको समय अर्थात् जनवरी २० सम्म ढिलो गराउनमा मककोनेलको उल्लेख्य भूमिका छ । यद्यपि उनले ट्रम्प अझै अदालतमा जिम्मेवार ठहर्‍याइन सक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि महाअभियोग सुनुवाइका क्रममा ट्रम्पका वकिलहरूले उनीविरुद्ध डेमोक्रेटिक दलले ‘बदलाको अभियान चलाइएको’ आरोप लगाएका थिए । संसद् आक्रमणका लागि समर्थकहरूलाई उक्साएको आरोप खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्ति अमेरिकी संविधान अनुकूल रहेको दाबी गरेका थिए । त्यसका साथै डेमोक्रेटिक दलका सिनेटरहरूले ट्रम्पमाथि लगाएका आरोप ‘भयानक झुट’ भएको उनीहरूको दाबी थियो ।

प्रकाशित : फाल्गुन ३, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?