भारतको तमिलनाडुमा पटाका कारखानामा आगलागी, कम्तीमा ६ श्रमिकको मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारत तमिलनाडुको विरुधुनगर जिल्लामा एक पटाका कारखानामा आगलागी हुँदा त्यहाँ कार्यरत कम्तीमा ६ श्रमिकको मृत्यु भएको छ । दुर्घटना शुक्रबार दिउँसो एक बजेतिर भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पीटीईले लेखेको छ ।

तर अर्को समाचार संस्था एएनआईले भने साँझसम्म मृत्यु हुनेको संख्या बढेर ११ पुगेको र ३६ जना घाइते भएको जनाएको छ । घटना लगत्तै तमिलनाडुका मुख्यमन्त्री इडाप्पडी के पलानिस्वामीले ट्विट गर्दै घाइतेको उद्धार, उपचार र राहत वितरणमा खटिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको जनाएका छन् । उनले मृतकका परिवारलाई जनही ३ लाख भारतीय रुपैयाँ र घाइतेको उपचारमा जनही ५० हजार दिइने घोषणासमेत गरेका छन् ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । एक ट्वीट गर्दै उनले आफू शोकाकुल परिवारका साथमा रहेको जनाएका छन् । दुर्घटनामा मृत्यु भएकाका परिवारलाई तत्काल प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २/२ लाख भारतीय रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् । घाइतेको उपचारमा जनही ५०/५० हजार भारु दिने बताइएको छ ।

प्रकाशित : माघ ३०, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?