कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई अलग खोप मिसाएर परीक्षण

नवीन पोखरेल

लन्डन — दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर ब्रिटेनमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ ।

दुई अलग खोप मिसाएर परीक्षण

तर कुनै एक कम्पनीबाट भइरहेको खोप आपूर्तिमा व्यवधान उत्पन्न भएमा अर्को कम्पनीको खोप दिन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न यस्तो परीक्षण भइरहेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूले दुई फरक कम्पनीका खोपहरू दिँदा प्रतिरोधक क्षमता अरू राम्रो हुन सक्ने अपेक्षा पनि गरेका छन् । परीक्षणमा अहिलेसम्म कोरोनाविरुद्धको खोप नलिएका उमेर ५० वर्ष वा माथिका ८ सयभन्दा बढी स्वयंसेवकले भाग लिने बीबीसीले जनाएको छ । ती सहभागीले ४ देखि १२ साताको अन्तरमा अस्ट्राजेनेका र फाइजरले विकास गरेका फरक–फरक खोप लिनेछन् ।

बेलायतका खोपमन्त्री नधिम जहावीका अनुसार यस अध्ययनका लागि सरकारले करिब ७० लाख पाउन्ड प्रदान गरेको छ । अध्ययनको नतिजा आउन केही महिना लाग्ने भएकाले त्यतिन्जेलसम्म सरकारले कुनै नीति परिवर्तन नगर्ने पनि जहावीले बताएका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाले खोप बनाउने ४ वटा मेकानिजम हुने र फरक–फरक मेकानिजमका खोप मिसाउँदा मानिसको एन्टिबडी क्रियाशील पार्ने विश्वाससहित नयाँ परीक्षण गर्न लागिएको बताए । यस्तो अभ्यास यसअघि इबोला, दादुरामा पनि गरिएको थियो ।

सिम्खडाका भनाइमा फाइजर–बायोएनटेक आरएनए खोप हो, जसमा जेनेटिक कोड मानिसको शरीरभित्र पठाइन्छ भने अक्सफोर्ड अस्ट्राजेनेका खोप भाइरसलाई जेनेटिकल्ली मोडिफाइड गरी बनाइएको खोप हो, जहाँ मानिसको शरीरमा भाइरस नै पठाइन्छ । ‘एउटाले नगरेको काम अर्कोले गर्न सक्ने र एउटै खोप आपूर्ति हुन अप्ठेरो हुने भएपछि यो उपाय आएको बुझ्न पनि सकिन्छ,’ सिम्खडाले भने ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार बेलायतमा शनिबार साँझसम्म १ करोड २१ लाख ४६ हजार ४ सय ७१ जनाले खोपको पहिलो डोज लिएका छन् । यहाँ हाल फाइजर–बायोएनटेक र अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित दुइटा खोप वितरण भइरहेको छ ।

यसैबीच, बेलायतमा निर्मित अक्सफोर्ड–अस्ट्राजेनेका खोप कोरोना भाइरस संक्रमण घटाउनमा प्रभावकारी बनेको एक अध्ययनले देखाएको छ । खोपको पहिलो डोज मात्रैबाट पनि संक्रमण न्यूनीकरणमा टेवा पुगेको पाइएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनले बेलायतमा अहिले भइरहेको खोप वितरणले भाइरसको संक्रमण घटाउन थालिसकेको देखाएको छ । खोपको एक डोज लिएका मानिसको स्वाब परीक्षणका क्रममा पोजिटिभ पाइने दर ६७ प्रतिशतले घटेको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार खोपको एकमात्र डोजले पनि ३ महिनासम्मका लागि ७६ प्रतिशतसम्म सुरक्षा प्रदान गर्छ । खोपको प्रभावकारितासम्बन्धी उक्त अध्ययन डिसेम्बर ७ अगावै खोप लिने मानिसमा गरिएकाले भाइरसको नयाँ प्रजातिको हकमा खोपको प्रभाव समान हुने/नहुने स्पष्ट हुन भने अझै बाँकी छ ।

प्रकाशित : माघ २७, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?