अस्ट्रेलियाको कृषि क्षेत्रमा कामदार अभाव

२६ हजारभन्दा बढी कामदार अपुग, नेपालीले देखाएनन् काम गर्ने चासो 
नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियाबाट एक घण्टाको दूरीमा करिब ३० हेक्टर जमिन लिएर व्यावसायिक खेती गर्दै आएका नेपाली कृषक दीपक लामालाई कोरोनाका कारण कामदारको अभाव भयो । चिनजानका मान्छे मात्र नभई सामाजिक सञ्जालमार्फत समेत आफूलाई कृषि क्षेत्रमा काम गर्ने कामदार चाहिएको जानकारी गराए । तर समयमै कामदार पाउन सकेनन् । 

अस्ट्रेलियाको कृषि क्षेत्रमा कामदार अभाव

थोरै जग्गामा व्यावसायिक खेती गर्ने लामालाई मात्र होइन, अहिले अस्ट्रेलियामा कृषि क्षेत्रमा काम गर्ने कामदारको व्यापक अभाव देखिएको छ । समाचार माध्यमका अनुसार अहिले अस्ट्रेलियाका दुर्गम कृषि क्षेत्रमा काम गर्न मात्र २६ हजारभन्दा बढी कामदारको अभाव छ । न्यु साउथ वेल्स, क्विन्सल्यान्ड, दक्षिण अस्ट्रेलियालगायत राज्यका दुर्गम क्षेत्रमा कामदारकै अभावमा कृषकले कृषि उत्पादन बेच्न नपाएर फ्याँक्नुपरेको समाचारसमेत सार्वजनिक भएका छन् । अस्ट्रेलियाको कृषि क्षेत्रमा कामदारको व्यापक अभाव भएपछि विपक्षी दल लेबरका कृषि प्रवक्ता एड हुसिकले कृषिमन्त्री डेभिड लिटलप्राउडलाई गत साता पत्र लेखेरै समस्याको समाधान गर्न आग्रह गरेका छन् । एएफपीका अनुसार उनले केन्द्र तथा राज्यका मन्त्री सम्मिलित बैठक गर्नसमेत आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै हरेक वर्ष छोटो समयको कामदार भिसामा आउने विदेशी आउन नपाएपछि यो समस्या अझ चर्किएको हो । सरकारले स्थानीय नागरिकलाई कृषि क्षेत्रमा काम गर्नका लागि आग्रह गरे पनि कामदारको समस्या कायमै रहेको कृषकले गुनासो गरेका छन् । कामदारको अभावमा आफूले फलाएको उब्जनी बोटबाट टिप्न नपाएपछि दसौं हजार बराबरको उत्पादन कृषकले फ्याँक्नुपरेको समाचारमा जनाइएको छ ।

कृषकले कामदारका लागि विशेष किसिमको भिसा सुविधा दिएर भए पनि अहिलेको अभाव कम गर्न आग्रह गरिरहेका छन् । तर यसबारे हालसम्म कुनै ठोस निर्णय भइसकेको छैन । कामदारको अभाव भएपछि पश्चिम अस्ट्रेलिया सरकारले भानुआटुबाट करिब तीन सय कृषि कामदारलाई हालै भित्र्याएको छ । अहिले टिमोर, लेस्टे तथा प्यासिफिक आइल्यान्डका करिब दुई हजार कामदार कृषि क्षेत्रमा काम गरिरहेका छन् ।

अस्ट्रेलियास्थित नेसनल फार्मर्स फेडेरेसनले कृषि क्षेत्रमा देखिइरहेको कामदार अभावलाई कम गर्न विशेष कृषि भिसाको सिर्जना गरेर भए पनि कामदार आपूर्ति गर्न आग्रह गरेको छ । विभिन्न ६ वटा प्रमुख सिद्धान्तलाई सुझावका रूपमा प्रस्तुत गर्दै सरकारलाई त्यसकै आधारमा भिसा योजना अघि ल्याउन अनुरोध गरेको छ । एसोसिएसनले करिब ६० प्रतिशत तरकारी तथा फलफूल खेती गर्ने कृषकले कामदारको अभाव भोग्नुपरेको समेत जनाएको छ । विगत चार वर्षदेखि व्यावसायिक खेती गर्दै आएका नेपाली कृषक लामाले अझै कामदारको अभाव भोगिरहेको बताए । ‘मेरो कृषि फार्ममा मात्र अहिले करिब २० जनाले काम गर्न सक्छन् तर पर्याप्त कामदार पाउन सकेको छैन,’ लामाले कान्तिपुरसँग भने ।

उनका अनुसार कोरोनाका कारण जागिर गुमाएका नेपाली विद्यार्थीलाई नै मध्यनजर गरेर सामाजिक सञ्जाल र इन्टरनेटमा समेत कामदार चाहिएको विज्ञापन राखे पनि उनले कुनै नेपाली कामदार पाउन सकेनन् । ‘म आफू नेपाली भएकाले समेत नेपाली भाइबहिनीलाई काम गर्न आऊन् भनेर विज्ञापन गरेको थिएँ तर खासै कसैले पनि चासो देखाएनन्,’ उनले सुनाए । उनको कृषि फार्ममा अहिले मलेसिया, भारत, भुटानी मूलका नेपालीले काम गरिरहेका छन् ।

अस्ट्रेलियाको कृषि क्षेत्रमा देखिएको कामदार अभाव कम गर्न नेपालबाट समेत कामदार ल्याउने विषयमा सरकारले कूटनीतिक पहल अघि बढाए सफल हुन सक्ने सम्भावना लामा देख्छन् । ‘नेपाल कृषिप्रधान देश भएको र हामीले कृषिमा काम गर्न सक्ने भएकाले समेत सरकारले कूटनीतिक निकायबाट पहल गरे नेपाली कामदारले भिसा पाउन सक्ने सम्भावना छ,’ उनी भन्छन् ।

अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालले दूतावासका तर्फबाट यसबारे विभिन्न भेटका क्रममा औपचारिक र अनौपचारिक पहल गरिरहेको बताए । राजदूत दाहालले नेपाली कामदार भित्र्याउन पाए अस्ट्रेलियाको कृषि आधुनिकीकरण र यसमा आएको विकासबारे ज्ञान लिने र अस्ट्रेलियामा दक्ष र लगनशील कामदारको अभाव केही मात्रामा पूर्ति हुने भएकाले यसबारे भेटघाटका क्रममा कुरा उठाइरहेको दाबी गरे ।

प्रकाशित : माघ २०, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?