कोरोना नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक : चिनियाँ राष्ट्रपति- विश्व - कान्तिपुर समाचार

कोरोना नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक : चिनियाँ राष्ट्रपति

रासस, सिन्ह्वा

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमा कोभिड-१९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ फाइल तस्बिर : रोयटर्स

उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताएका हुन् ।

राष्ट्रपति सीले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरुसँग फोनवार्ता गरेका थिए ।

फोन वार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वय सहितको प्रयासका लागि आग्रह गरेका थिए । त्यस फोन वार्ताका क्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझ्दारी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

त्यस वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरुसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानकारी लिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

मध्यपश्‍चिमाञ्‍चल र चाइना थ्री गोर्जेस विश्‍वविद्यालयबीच सम्झौता

चाँदनी कठायत

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता (एमओयू) भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालयका तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका विश्वविद्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य गर्नका लागि सम्झौता गरिएको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र गोर्जेस विश्वविद्यालयबीच भएको सम्झौतामा विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु आदानप्रदान गर्न सकिने उल्लेख छ । दुवै विश्वविद्यालयले सामूहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउने सम्झौता भएको उपकुलपति सिंहले बताए । विश्वविद्यालयले विभिन्न गोष्ठीहरु आयोजना गरी एक आपसमा विभिन्न शैक्षिक जानकारी तथा समग्रीहरु आदान–प्रदानसमेत गरिनेछ ।

सम्झौताअनुसार दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु सञ्चालन गर्न सकिनेछ । पाँच वर्षको अवधि रहेको उक्त सम्झौता पत्र पाँच वर्षपछि स्वत: नवीकरण हुने विश्वविद्यालयले जनाएको छ । उपकुलपति सिंहका अनुसार आपसी समझदारी र छलफलपछि लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयका लागि प्रख्यात विश्वविद्यालय हो । स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पठनपाठन हुने विश्वविद्यालय भएका कारण पनि यो सम्झौताबाट मप विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुले शैक्षिक लाभ लिन सक्ने विश्वास उपकुलपति प्रा.डा. सिंहको छ ।

प्रकाशित : माघ १७, २०७७ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×