१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस सांसद थरूर र पत्रकार सरदेसाईसहित ८ जनाविरुद्ध ‘राजद्रोह’को आरोप

कृषि कानुन फिर्ता नभएसम्म प्रदर्शनस्थल नछाड्ने किसानको अडान

काठमाडौँ — भारतको उत्तर प्रदेशको नोएडा प्रहरीले कांग्रेस सांसद तथा लेखक शशी थरूर, वरिष्ठ पत्रकार राजदीप सरदेसाईसहित ८ जनाविरुद्ध जाहेरी (प्रथम सूचना रिपोर्ट) दर्ता गरेको छ ।

कांग्रेस सांसद थरूर र पत्रकार सरदेसाईसहित ८ जनाविरुद्ध ‘राजद्रोह’को आरोप

जनवरी २६ मा गणतन्त्र दिवसको अवसरमा हिंसा फैलाएको आरोपमा सांसद थरूर, पत्रकार सरदेसाई, नेसनल हेराल्डका समूह सम्पादक मृणाल पाण्डेय, उर्दू भाषाको अखबार कौमी आवाजका प्रधान सम्पादक जफर आगा र क्याराभान म्यागजिनका प्रधान सम्पादक तथा प्रकाशक परेशनाथ, सम्पादक अनन्त नाथ र कार्यकारी सम्पादक विनोद के जोसविरुद्ध हिंसा भड्काएको भन्दै इन्डियन पेनल कोडको विभिन्न धाराअन्तर्गत रहेर जाहेरी दर्ता गरिएको हो ।

त्यस्तै एक जना अज्ञात व्यक्तिका नाममा पनि जाहेरी दर्ता गरिएको छ । उत्तर प्रदेशको गौतमनगर जिल्लाको नोएडा सेक्टर–२० प्रहरी थानामा बिहीबार साँझ उक्त जाहेरी दर्ता गरिएको हो ।

जाहेरीमा माथि उल्लेखित व्यक्तिहरुले गणतन्त्र दिवसको अवसरमा किसानले निकालेको परेडमा हिंसा भड्काएको, दुई समूहबीच शत्रुता उत्पन्न गराउने काम गरेको, शान्ति व्यवस्थामा खलल पुऱ्याएको बताइएको छ ।

जनवरी २६ मा भएको ट्याक्टर परेडमा प्रहरीको गोली लागी एक जना किसानको मृत्यु भएको भन्दै भ्रम फैलाएर हिंसात्मक घटनाका लागि उक्साएको आरोप उनीहरुमाथि लगाइएको छ । तर ती किसानको ट्याक्टर पल्टिएर मृत्यु भएको बताइएको छ । पहिले प्रहरीको गोली लागी मृत्यु भएको भनेर सामाजिक सञ्जालमा लेख्ने पत्रकार सरदेसाईसमेतले पछि आफ्नो ट्विट हटाउँदै सच्याएका थिए ।

किसान नेताविरुद्ध पनि राजद्रोहको मुद्दा

गणतन्त्र दिवसका अवसरमा दिल्लीमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै दिल्ली प्रहरीले किसान नेताहरुविरुद्ध गैरकानुनी गतिविधि रोकथाम अधिनियम (यूएपीए)र राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको क्राइम ब्रान्चले यस घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएको छ । जनवरी २६ मा विभिन्न किसान संगठनद्वारा आयोजित ट्याक्टर ऱ्यालीमा दिल्लीको आईटीओसमेत कैयौं स्थानमा हिंसात्मक झडप भएको थियो । आईटीओमा एक जना किसानको पनि मृत्यु भएको थियो ।

भारतीय सेलेब्रिटी टिभी पत्रकार राजदीप सरदेसाईलाई कारबाही

केन्द्र सरकारले ल्याएको तीन वटा कृषि कानुनको विरोधमा भारतका ४० भन्दा बढी किसान संगठनले दुई महिनादेखि दिल्लीका सीमामा विरोध प्रदर्शन गरिरहेका छन् । त्यसै क्रममा सरकारविरुद्ध दबाब बढाउन भन्दै उनीहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर परेड निकालेका थिए । ऱ्यालीका लागि प्रहरीले स्वीकृति दिएको रुटभन्दा तोडेर किसान संगठनका केही व्यक्तिले प्रदर्शन गरेको आरोप लगाइएको छ ।

प्रदर्शनकै क्रममा एउटा समूहले ऐतिहास लाल किलामा धार्मिक झण्डा पनि फहराएको थियो । त्यसैका कारण भारतमा अहिले ठूलो विवाद भइरहेको छ । उक्त घटनापछि संयुक्त किसान मोर्चाले वक्तव्य जारी गर्दै घटनाको निन्दा गरेको थियो । उक्त घटना आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन केही घुसपैठ व्यक्तिहरुले घटाएको पनि मोर्चाले आरोप लगाएको छ ।

गाजीपुर, सिंघु र टिकरी सीमामा किसानको धर्ना जारी

जनवरी २६ को हिंसापछि किसान आन्दोलन के हुने हो भनेर विभिन्न अड्कलबाजी लगाइए पनि दिल्लीका विभिन्न सीमामा अहिले पनि किसान धर्नामा रहेका छन् । दिल्लीका सीमा गाजीपुर, सिंघु र टिकरीमा अहिले पनि किसान धर्नामा बसेका छन् । पहिलेको भन्दा संख्यामा केही कमी आए पनि किसानहरु गाउँबाट आउने क्रममा रहेको किसान नेताहरुले बताएका छन् । सरकारले कृषि कानुन फिर्ता नगरेसम्म आफूहरुको प्रदर्शन जारी रहने पनि किसानको अडान रहेको छ ।

बिहीबार गाजीपुरमा धर्नामा रहेका किसानलाई हट्न स्थानीय प्रशासनले आग्रह गरेको थियो । तर भारतीय किसान युनियनका नेता राकेश टिकैतले आफूहरु त्यहाँबाट नहट्ने बताएका थिए । बिहीबार साँझ टिकैतले आफूहरुको आन्दोलनलाई दबाउन विभिन्न षड्यन्त्र भएको बताएका थिए । मिडियासँगको कुराकानीमा उनले रुँदै कृषि कानुन फिर्ता नभएसम्म आफूहरु नजाने बताएका थिए । उनले ‘भावुक’ हुँदै आफूहरुमाथि जबरजस्ती गरिए आत्महत्यासम्म गर्ने चेतावनी प्रशासनलाई दिएका थिए ।

उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै हरियाणा र उत्तर प्रदेशका विभिन्न गाउँमा रातारात पञ्चायतका बैठक बसेका थिए । राकेह टिकैतको भिडियो देखेरै बिहीबार राति नै सयौंको संख्यामा किसानहरु गाजीपुर आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : माघ १६, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?