२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतीय सेलेब्रिटी टिभी पत्रकार राजदीप सरदेसाईलाई कारबाही

नयाँदिल्ली — झूटो समाचार सम्प्रेषण गरेको आरोपमा इन्डिया टुडे टेलिभिजनका वरिष्ठ प्रस्तोता तथा सल्लाहकार सम्पादक राजदीप सरदेसाई दुई हप्ताका लागि निलम्बनमा परेका छन् ।

भारतीय सेलेब्रिटी टिभी पत्रकार राजदीप सरदेसाईलाई कारबाही

भारतीय अंग्रेजी अनलाइन द वायरका अनुसार इन्डिया टुडे टिभीले राजदीपलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै दुई साताका निलम्बन गर्ने र एक महिनाको तलब कट्टी गर्ने निर्णय गरेको हो । यद्यपि राजदीपले आफूमाथि भएको कारबाहीका बारेमा सार्वजनिक रुपमा भने केही बताएका छैनन् ।

गत मंगलबार (२६ जनवरी) मा राजदीपले प्रत्यक्ष प्रसारणका क्रममा दिल्लीमा भएको किसानहरुले निकालेको ट्याक्टर र्‍यालीका क्रममा भएको हिंसात्मक झडपमा प्रहरीको गोली लागी एक किसानको मृत्यु भएको दाबी गरेका थिए । ‘४५ वर्षीय नवनितको आईटीओमा प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ ।

किसानहरुले मलाई उनको बलिदान खेर जान नदिने बताएका छन्’ उनले तत्कालै ट्वीटसमेत गरेका थिए । तर, दिल्ली प्रहरीले भने उक्त दाबीलाई अस्वीकार गर्दै ती किसानको मृत्यु आफैले चलाएको ट्याक्टर पल्टेर भएको दाबी गर्दै त्यसको भिडियो समेत सार्वजनिक गरेको थियो ।

त्यसपछि राजदीपले पछि आफ्नो ट्वीटलाई हटाएर ती किसानको मृत्यु प्रहरीले राखेको ब्यारिकेड तोड्ने क्रममा ट्याक्टर पल्टिएर भएको र किसानहरुको आरोप सही नभएको उल्लेख गर्दै फेरि नयाँ ट्विट गरेको समेत द वायरले लेखेको छ ।

पछि पोस्टमर्टमा रिपोर्टमा पनि गोली नभएर टाउकोमा चोट लागेको खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजदीपले आफ्नो ट्वीटलाई सच्चाए पनि सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरुले राजदीपले गलत समाचार सम्प्रेषण गरेर आन्दोलनरत किसानलाई उग्र बन्न उक्साएको भन्दै उनीविरुद्ध कानुनी कारबाही थाल्नु पर्ने माग गरेका थिए ।

नरेन्द्र मोदी सरकारले करिब पाँच महिना अघि ल्याएको तीनवटा कृषि कानुनको विरोधमा विगत पाँच महिनादेखि आन्दोलनरत किसानहरुले २६ जनवरी अर्थात् भारतको गणतन्त्र दिवसकै दिन निकालेको ट्याक्टर र्‍याली दिल्लीको आईटीओमा आइपुग्दा हिंसात्मक झडपमा परिणत भएको थियो । कृषि कानुनको विरोधमा पन्जाब, हरियाणा, राजस्थानलगायका विभिन्न राज्यबाट आएका किसानहरुले दुई महिनादेखि दिल्लीको सिंघु, टिक्री, गाजिपुरलगायातका नाकामा ठूलो संख्यामा किसानहरु धर्नामा बस्दै आएका छन् ।

यसबीचमा आन्दोलरत किसान संगठनहरु र सरकारबीच एघार पटकसम्म वार्ता समेत भइसकेको छ । तर, कुनै निकास निस्किएको छैन । किसान पक्षले कानुन फिर्ता गर्नुपर्ने माग राखेको छ भने सरकारले भने त्यसमा संशोधन गर्ने तर फिर्ता नलिने अडान लिएको छ ।

पटक-पटकको वार्ता असफल भएपछि धर्नामा रहेका किसानहरुले दिल्लीमा ट्याक्टर र्‍याली गर्ने यसअघि नै घोषणा गरेका थिए । दिल्ली प्रहरीले सुरक्षाको कारण देखाएर उनीहरुलाई इन्डिया गेटको विशेष कार्यक्रम सकिएपछि मात्र उक्त र्‍याली गर्ने अनुमति दिएको थियो ।

र्‍यालीको रुट पनि तय गरिएको थियो । तर, किसानहरुले सबेरैदेखि ट्याक्टर र्‍याली सुरु गरे । नयाँ दिल्लीको आईटीओमा प्रहरीले र्‍यालीेलाई रोक्न खोजेपछि झडपको स्थिति बन्यो । आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण त्यसक्षेत्र दिनभर नै तनावग्रस्त रहृयो । त्यसक्रममा तिनै आन्दोलनकारी किसानमध्येका एक नवनितको मृत्यु भएको थियो । सुरुमा ती किसानको मृत्यु प्रहरीको गोली लागेर भएको भनिए पनि पछि आफैले चलाएको ट्रयाक्टर पल्टिँदा घाइते भएको खुलेको थियो ।

वरिष्ठ पत्रकार राजदीपले त्यही घटनाको गलत रिर्पोटिङ गरेकोमा कारबाहीमा परेका हुन् । झडपका क्रममा थुप्रै प्रहरी र अन्य आन्दोलनकारी घाइते भएका थिए ।

आईटीओबाट लालकिला पुगेका आन्दोलनकारीले त्यहाँ पनि ठूलो मात्रामा भौतिक क्षति पुर्याएका थिए । जसका कारण किसान संगठनहरुले चर्को आलोचना खेप्नु परेको छ । हिसांत्मक झडपमा संलग्न भएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरिसकेको छ भने ३७ किसान नेताहरुविरुद्ध एफआईआरसमेत दायर गरिएको छ ।

प्रकाशित : माघ १५, २०७७ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?