१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

विश्वमा सुरक्षा र स्थिरता कायम गर्न आफ्नो विशेष जिम्मेवारी रहेको रुसको भनाइ
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् ।

चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

‘राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रुसले पुर्‍याउने क्षतिविरुद्ध राष्ट्रिय स्वार्थको बचाउमा अमेरिका बलियोसँग उभिने बताएका छन्,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ ।

रुसी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच ‘निकै सौहार्दपूर्ण रूपमा कामका विषयमा खुलस्त कुराकानी भएको’ जनाएको छ । कुराकानीका क्रममा दुई नेताबीच रुसमा जारी विपक्षीको प्रदर्शनका विषयमा कुराकानी भएको जनाइको छ ।

क्रेमलिनले दुई देशबीचको सम्बन्ध सामान्यीकरणका विषयमा आफ्नो ध्यानाकर्षण भएको र दोहोरो स्वार्थ सम्बोधन हुने जनाएको छ । उसका अनुसार बाइडेन र पुटिन परमाणु सम्झौतामा हस्ताक्षर गर्नका लागि पनि इच्छुक देखिएका छन् ।

ह्वाइटहाउसको विज्ञप्तिका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफगानिस्तानमा रहेका अमेरिकी सेनामाथि रुसले मूल्य तोकेको विषय र एलेक्सी नाभाल्नीमाथि भएको विष हमलाबारे समेत कुराकानी भएको थियो । पुटिनले भने ‘विश्वमा सुरक्षा र स्थिरता कायम गर्न आफ्नो विशेष जिम्मेवारी रहेको कुरामा सचेत रहेको’ जनाएको छ ।

क्रेमलिनका अनुसार चुनाव जितेकामा पुटिनले बाइडेनलाई बधाई दिएका थिए । बाइडेनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन् । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनाव जित्नका लागि रुससँग साँठगाँठ गरेको आरोप लाग्दै आएको छ ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनी पुटिनप्रति निकै नरम भएको बताउने गरेका थिए । अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प कार्यकालमा रुस थुप्रै साइबर आक्रमणमा संलग्न भएको दाबी गर्ने गरेका छन् ।

ओबामा प्रशासन पनि रुसमाथि कमजोर भएको आरोप लाग्ने गरेको थियो । वर्तमान राष्ट्रपति बाइडेन ओबाका उपराष्ट्रपति थिए । क्रिमियालाई रुसले आफूमा गाभ्दा, पूर्वी युक्रेनमा हस्तक्षेप गर्दा र सिरियामा भएको दमनलाई समर्थन जनाउँदा रुसलाई रोक्न नसकेको आरोप ओबामा प्रशासनमाथि लाग्ने गरेको छ ।

मानवअधिकार र युरोपमा पुटिनको उद्देश्यमाथि बाइडेन र उनको विदेश नीति टोलीले प्रस्ट अडान लिने देखिएको छ । पछिल्लो समय कोरोनासँगै देशको अर्थतन्त्रमा आएको मन्दीका कारण उनीहरू मुडभेडमा जानभन्दा सम्भव भएका स्थानमा सहकार्य गर्न इच्छुक देखिएका हुन् ।

जसका कारण यसै महिना सकिन लागेको परमाणु अस्त्र सम्झौताको म्याद थप्न दुई राष्ट्रपति सहमत भएका ठानिएको छ । सम्झौताले अमेरिका र रुसले भण्डारण गर्न पाउने क्षेप्यास्त्रको संख्या निर्धारण गर्छ ।

सन् २०१० मा हस्ताक्षर गरिएको सम्झौताअनुसार दुई देशहरु लामो दूरीका १ हजार ५ सय ५० भन्दा बढी क्षेप्यास्त्र निर्माण नगर्न सहमत भएका थिए । त्यस्तै दुवै देश बढीमा ७ सयवटा अन्तरमहादेशीय तथा पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु हतियारका लागि शक्तिशाली विस्फोटक उपकरण परिचालन नगर्न सहमत भएका थिए ।

प्रकाशित : माघ १४, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?