२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

एजेन्सी

वेलिङ्टन — चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुई मुलुकले १२ वर्षअघिको स्वतन्त्र व्यापार सम्झौतालाई अद्यावधिक गरी मंगलबार नयाँ सम्झौता गरेका हुन् ।

चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता

न्युजिल्यान्डको छिमेकी अस्ट्रेलियासँगको व्यापारिक सम्बन्ध बिग्रँदै गएका बेला चीनले उक्त सम्झौता गरेको हो । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओ र उनका न्युजिल्यान्डका समकक्षीले सम्झौतामा भिडियो लिंकमार्फत हस्ताक्षर गरेका हुन् ।

सम्झौताले दुवै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्‍याउने बताइएको छ । सन् २००८ मा चीन र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग गरेको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता थियो ।

नयाँ सम्झौताका लागि विगत ३ वर्षदेखि दुवै मुलुकका अधिकारीहरूबीच वार्ता भइरहेको थियो । क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहनसमेतका सेवा क्षेत्रलाई न्युजिल्यान्डका लागि थप खुला गर्नेछ ।

साथै नयाँ सम्झौताले वस्तुको व्यापारतर्फ दुवै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्ने चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुन: मूल्यांकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुवै देशबीच ई–कमर्स, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ ।

साथै दुवै मुलुकले स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयन सहज पार्न देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्यमन्त्री वाङले जनाएका छन् ।

प्रकाशित : माघ १४, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?