२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भारत र चीनका सैनिकबीच फेरि झडप

सीमाक्षेत्रमा तनाव कम गर्न वार्ता चलिरहेकै बेला दुई देशका सेनाबीच सिक्किमको नाकु ला क्षेत्रमा घम्साघम्सी
भारतीय पक्षले भनेजस्तो सीमा क्षेत्रमा कुनै पनि झडप नभएको द ग्लोबल टाइम्सको भनाइ

नयाँदिल्ली — सीमा तनाव कम गर्न वार्ता जारी रहेकै बेला भारत र चीनका सैनिकबीच फेरि झडप भएको छ । दुई देशका सैनिकहरूबीच सिक्किमको नाकु ला नाकानजिकको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा त्यस्तो झडप भएको हो ।

भारत र चीनका सैनिकबीच फेरि झडप

सिक्किमलाई चीनको तिब्बतसँग जोड्ने नाकु ला नाकालाई सामरिक हिसाबमा भारत र चीन दुवैले निकै संवेदनशील मान्दै आएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार त्यस्तो झडप गत बुधबार नै भए पनि सोमबार मात्र बाहिर आएको हो । यद्यपि झडपमा दुवै पक्षमा मानवीय क्षति भने भएको छैन ।

चिनियाँ सैनिक टुकडीले भारतीय क्षेत्रमा प्रवेश गरेपछि उक्त झडप भएको बताइएको छ । त्यसलगत्तै चिनियाँ सैनिकहरूलाई पछाडि धकेल्ने क्रममा भएको झडपमा केही भारतीय सैनिक घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत वैशाखमा पनि सोही क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो ।

भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै बुधबार घटना ‘सामान्य’ भएको र स्थानीय कमान्डस्तरबाटै सुल्झिसकेको जनाएको छ । ‘उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा जनवरी २० मा सामान्य झडप भएको हो । त्यसलाई स्थानीय कमान्डरबाट स्थापित प्रोटोकलअनुसार सुल्झाइएको छ,’ भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी उसले गलत रिपोर्टहरूलाई बढाइचढाइ नगर्न पनि सञ्चारमाध्यमहरूलाई चेतावनी दिएको छ ।

गत असारमा उत्तरी लद्दाखको सीमावर्ती गलवान क्षेत्रमा भएको हिंसात्मक झडपका कारण दुवै देशबीच कायम तनाव कम गर्ने प्रयास जारी रहेकै बेला पछिल्लो झडप भएको हो । भारत र चीनबीच गत वैशाखमा उत्तरी लद्दाखको सीमावर्ती गलवान उपत्यका क्षेत्रमा भएको सैन्य झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चिनियाँ पक्षतर्फ भएको हताहत भने सार्वजनिक भएन ।

उक्त घटनामा चीनतर्फ पनि ठूलो क्षति भएको भारतीय सेनाले दाबी गरेको थियो । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । एसियाका दुई ठूला आणविक शक्तिसम्पन्न मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो मानिएको थियो ।

भारत र चीनबीच ४ हजार किलोमिटरभन्दा लामो सीमा छ । त्यसमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट उक्त निगरानी सेना र आईटीबीपीले गर्छन् । संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले सीमा सुरक्षा हेर्दै आएको छ ।

सीमा विवादका कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्टयाइएको छ ।

दुवै मुलुकले एकअर्कालाई एलएसी उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । वैशाखमा गलवान उपत्यका क्षेत्रमा भएको झडपको निहुँ पनि त्यही एलएसीको उल्लंघन नै हो । सीमामा दुई देशका सैनिकहरू आमनेसामने हुने गरे पनि मानवीय क्षति नै भएको भने पछिल्लो ५० वर्षकै पहिलो घटना हो । घटनापछि दुई देशबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण बन्न पुगेको हो । गलवान घटनाप्रति अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चिन्ता व्यक्त गरिएको थियो । त्यसपछि दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थितिमा उल्लेख्य वृद्धि गरेका छन् ।

त्यति मात्र होइन, तनावकै बीच भारतले चिनियाँ कम्पनी र लगानीलाई निरुत्साहित गर्ने नीति नै लियो । त्यसयता सयौं चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाइएको छ । साथै चिनियाँ कम्पनीले पाएका निर्माणसम्बन्धी ठेक्का तोडिएका छन् । चीनले त्यस्ता कदम अन्तर्राष्ट्रिय व्यापारको स्थापित मान्यताविरुद्ध भएको भन्दै विरोध गर्दै आएको छ ।

सम्बन्ध तनावपूर्ण कायमै रहे पनि परिस्थितिलाई साम्य पार्न दुवैले कूटनीतिक र सैन्यस्तरको वार्तालाई भने निरन्तरता दिँदै आएका छन् । दुई देशबीचका उच्च सैनिक अधिकारीहरूबीच एघारौं चरणको वार्ता भइसकेको छ । यही आइतबार मात्र पूर्वी लद्दाखको मोल्दोंमा नवौं चरणको वार्ता भएको थियो । करिब १५ घण्टा चलेको उक्त वार्ता पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

पछिल्लो घटनाका सम्बन्धमा चिनियाँ पक्षले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन । चिनियाँ सरकारको मुखपत्र मानिने द ग्लोबल टाइम्सले त उल्टो भारतीय पक्षले भनेजस्तो कुनै पनि झडप नभएको र भारतीय सञ्चारमाध्यममा आएका समाचारहरू आधारहीन र झूटो भएको दाबी गरेको छ ।

प्रकाशित : माघ १३, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?