खानीभित्र फसेका ११ जनाको उद्धार

एएफपी

बेइजिङ — चीनको पूर्वी प्रान्तको एक सुन खानीमा सयौं मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरूले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ केन्द्रीय प्रसारण संस्था सीसीटीभीका अनुसार खानीभित्र बिस्फोट भएपछि दुई सातादेखि मजदुरहरू सुरुङमा फसेका थिए । सुरुङमा फसेका अन्य १० जनाको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।

सानडोङ प्रान्तको हुसान खानीका फसेका मजदुरलाई आइतबार दिउँसो बाहिर निकालिएको हो । अन्य मजदुरलाई सुरुङबाहिर निकाल्न करिब ६ सय ५० जना उद्धारकर्मी र ४ सय ७ वटा उपकरण परिचालन भएको जनाइएको छ ।

खानीभित्र करिब ६ सय मिटरको गहिराइमा ती मजदुरहरू जनवरी १० मा फसेका हुन् । आइतबार अघिसम्म उद्धारकर्ताहरूले खानीभित्र फसेका १० जना मजदुरसँग मात्र सम्पर्क गर्न सफल भएका थिए ।

उद्धारकर्ताहरूले खानीभित्र फसेकाहरूका लागि ढुंगामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्रका अन्य मजदुरको खोजी एवं पहिचानका लागि डिटेक्टर र पोषणयुक्त खाद्य सामग्रीहरू पनि पठाइएको छ । खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरू बढ्ने अवस्था रहेको उद्धारकर्ताहरूको भनाइ छ ।

चीनमा खानी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायहरूको फितलो अनुगमनका कारण यस्ता घटना हुने गरेका जनाइएको छ । यसअघि गत डिसेम्बरमा चोङकिङस्थित खानीको सुरुङमा चेपिएर २३ जना मजदुरको ज्यान गएको थियो ।

प्रकाशित : माघ ११, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?