भारतको सिरम इन्स्टिच्युटको आगलागीमा ५ जनाको मृत्यु [अपडेट]

एजेन्सी

पुने — भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेकाे सिरम इन्स्टिच्युटमा बिहीबार दिउँसोको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।

भारतको सिरम इन्स्टिच्युटको आगलागीमा ५ जनाको मृत्यु [अपडेट]

निर्माणाधीन अवस्थामा रहेकाे भवनमा आगलागी भएको हुँदा सिरम इन्स्टिच्युटको प्लान्टमा भने क्षति नभएको र कोभिड–१९ खाेपको उत्पादनमा कुनै असर नपरेको कम्पनीले जनाएको छ ।

सय एकडको क्षेत्रफलमा रहेको भवनमा दिउँसो २ बजेर ४५ मिनेटमा आगो लागेको थियो । सेरम इन्स्टिच्युटलाई विश्वमै सबैभन्दा ठूलाे खाेप उत्पादक कम्पनी मानिन्छ । कम्पनीमा के कारण आगलागी भएको हाे भन्ने अहिलेसम्म खुलेको छैन ।

सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको कोराेना भाइरसविरुद्ध खाेपलाई कोभिसिल्डका नाममा उत्पादन गर्दै आएको छ ।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुलाई झन्डै दुई घन्टा लागेको थियो ।

यस्तै, भारत सरकारको अनुदानमा बिहीबार नेपाल आइपुगेको १० लाख डोज कोरोना खोप पनि भारतीय सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले उत्पादन गरेको हो । सिरमले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको 'एजेडडी१२२२' नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

...

भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेकाे सेरम इन्स्टिच्युटको उद्योगमा आगलागी भएको छ । ठूलो मात्रामा लागेको आगो नियन्त्रणको कार्य भइरहेकाे छ ।

प्रारम्भीक जानकारी अनुसार उक्त आगलागी नियन्त्रणमा लिन विभिन्न ठाउँबाट अग्नि नियन्त्रकहरु प्रयासरत छन् ।

कोराेना भाइरसविरुद्ध अक्सफोर्ड–अस्ट्राजेनिकाकाे कोरोना खाेप सेरम इन्स्टिच्युटमा उत्पादन हुँदै आएको छ । इन्स्टिच्युटमा आगलागीको कारण के हो भनेर हालसम्म कुनै विवरण आएको छैन ।

प्रकाशित : माघ ८, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?