अमेरिकी राष्ट्रपति बाइडेनको ‘पहिलो संवाद’ क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग

महत्त्वाका‌ंक्षी पेट्रोलियम पाइपलाइन योजना रद्द गरिएकोमा ट्रुडो दु:खी, अन्य निर्णयमा बाइडेनको प्रशंसा

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग टेलिफोन कुराकानी गर्ने भएका छन् । राष्ट्रपति बाइडेनकी प्रेस सचिव जेन साकीले आफ्नो पहिलो ह्वाइटहाउस मिडिया ब्रिफिङका क्रममा बाइडेनले क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग कुराकानी गर्ने जानकारी दिएकी हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेनको ‘पहिलो संवाद’ क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग

बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलो विदेशी नेताका रुपमा ट्रुडोसँग कुराकानी गर्दै छन् ।

साकीले मिडिया ब्रिफिङका क्रममा भनिन्, ‘राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पहिलो फोन गर्नुहुनेछ । मलाई आशा छ कि क्यानडासँगको विशेष सम्बन्धका साथै किस्टोन एक्सएल पाइपलाइनजस्ता महत्त्वपूर्ण मुद्दामा हामीले जुन फैसला लिइरहेका छौं, त्यसबारे पनि कुराकानी हुनेछ ।’

साकीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने अहिले कुनै योजना नभएको पनि बताइन् । विश्वका विभिन्न मुलुकसँग नयाँ शिराबाट सम्बन्धको सुरुवात गर्ने र अहिलेका चुनौतीलाई मिलेर सामना गर्ने बाइडेनको प्रमुख प्राथमिकता हुने पनि साकीले जानकारी दिइन् । उनले भनिन्, ‘जो बाइडेनको शीर्ष प्राथमिकता अमेरिकी नागरिकलाई कोभिड–१९ राहत प्याकेज दिने हुनेछ ।’

केही दिनअघि अमेरिकाका लागि क्यानडेली राजदूत क्रिस्टेन हिलम्यानले बाइडेन र ट्रुडोबीच छिट्टै कुारकानी हुने बताएकी थिइन् । कोरोना महामारीका कारण दुई नेताबीच भौतिक रुपमा भेटवार्ता तत्काल सम्भव नभए पनि फोनमा छिट्टै कुराकानी हुन सक्ने उनले संकेत गरेकी थिइन् ।

अपेक्षा गरिएबमोजिम नै दुई नेताबीच किस्टोन एक्सएल पाइपलाइनका बारेमा नै कुराकानी हुने देखिएको छ । बाइडेन प्रशासनले उक्त महत्त्वाकांक्षी पाइपलाइन योजना खारेज गर्ने भएको छ । चुनावी अभियानदेखि नै आफूले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने बताउँदै आएका बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको पहिलो दिनमै क्यानडा–अमेरिका पाइपलाइन योजना खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

उक्त पाइपलाइनमार्फत क्यानडाको अल्बर्टाबाट अमेरिकासम्म पेट्रोलियमको कच्चा पदार्थ आपूर्ति गरिने बताइएको थियो । उक्त योजनालाई सन् २०१५ मै तत्कालीन राष्ट्रपति बाराक ओबामाले खारेज गरिदिएका थिए । तर सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना पुन: सुरु गर्न आदेश दिएका थिए ।

गत वर्षबाट पाइपलाइन निर्माणको काम नै सुरु भएको थियो । टीसी इनर्जीका अनुसार अहिलेसम्म ३ सय माइल पाइपलाइन निर्माण भइसकेको छ । साथै कम्पनीले एक वक्तव्य जारी गरी उक्त योजना खारेज भएकोमा आफूहरु निराश भएको जनाएको छ ।

त्यस्तै क्यानडाका प्रधानमन्त्री ट्रुडोले पनि किस्टोन एक्सएल पाइपलाइन योजना रद्द गर्ने बाइडेनको निर्णयले दु:खी भएको बताएका छन् । ‘हामी राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनका विषयमा गरेको प्रतिबद्धताको स्वागत गर्छौं तर किस्टोन एक्सएल पाइपलाइनबारेको निर्णयले भने दु:खी छौँ,’ ट्रुडोले आफ्नो वक्तव्यमा भनेका छन् ।

आफूले गत नोभेम्बरमा पनि बाइडेनसँग यसबारे कुराकानी गरेको उनले उल्लेख गरेका छन् । ‘अल्बर्टा, सास्कटचुवान र क्यानडाभर रहेका सबै कामदारलाई हामीले सधैं सहयोग गरेका छौँ, क्यानडा अमेरिकामा इन्धन आपूर्ति गर्ने एक्लो ठूलो मुलुक हो । जसले अमेरिकी ऊर्जा सुरक्षा र आर्थिक प्रतिस्पर्धामा योगदान पुऱ्याएको छ । जसले दुवैतर्फ हजारौं व्यक्तिलाई रोजगारी दिएको छ,’ ट्रुडोले भनेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनमा पुन: जोडिने निर्णय गरेकोमा भने ट्रुडोले बाइडेनको प्रशंसा गरेका छन् । त्यस्तै मुस्लिम–बहुल देशका नागरिकलाई लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने निर्णयको पनि ट्रुडोले स्वागत गरेका छन् ।

प्रकाशित : माघ ८, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?