१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अमेरिकामा फेरियो सत्ता

सय दिनभित्रै बृहत् आप्रवासी योजना ल्याइने, मुस्लिम देशबाट अमेरिका यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिने
 अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा फर्किने, मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने काम रोक्ने 
एजेन्सी

वासिङ्टन — अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् ।

अमेरिकामा फेरियो सत्ता

७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए ।

बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला हुन् । क्यापिटल हिलमा आयोजित समारोहमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस तथा बिल क्लिन्टन पूर्वप्रथम महिलाहरू सहित उपस्थित थिए । शपथग्रहण समारोहमा बाइडेनले आफ्ना अग्रजहरूलाई उपस्थित भएकामा धन्यवाद दिए ।

‘यो लोकतन्त्रको उत्सव हो । यो इतिहास र आशाको दिन हो,’ उनले भने । आफ्नो कार्यकालमा जनचाहनाको सदैव कदर हुने बाइडेनले बताए । अमेरिकाले सामना गरिरहेको अभूतपूर्व चुनौती हटाउन सबै अमेरिकी एक हुनसमेत बाइडेनले आग्रह गरे ।

यसपटक बाहिरिँदै गरेका डोनाल्ड ट्रम्प र नयाँ राष्ट्रपति बाइडेनबीचको तिक्ततापूर्ण सम्बन्ध असाधारण बन्यो । चुनावी पराजय अस्वीकार गरेका ट्रम्प बाइडेनको शपथग्रहण समारोहमा उपस्थित भएनन् । यसअघि डेमोक्रेट राष्ट्रपति एन्ड्र्यु जनसनले सन् १८६९ मा नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टलाई स्वागत गरेका थिएनन् । ग्रान्टले जनसनलाई हटाउन समर्थन जनाएकाले त्यसलाई सामान्य ठानिएको थियो ।

बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै निवर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने बाइडेनको टोलीले जनाएको छ । बाइडेनले अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । उनले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने काम पनि रोक्ने भएका छन् ।

ह्‍वाइटहाउसमा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन तस्बिर : रोयटर्स

ट्रम्पले मुस्लिम देशहरूबाट अमेरिकामा यात्रा गर्न लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै कोरोना भाइरसका कारण उत्पन्न संकटका बेला विद्यार्थीलाई गरेको निष्कासन तथा ऋण भुक्तानीसम्बन्धी निर्णयसमेत बाइडेनले परिवर्तन गर्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले निर्वाचनका बेला नै प्रतिबद्धता गरेकामध्ये केही महत्त्वपूर्ण मुद्दाको प्रक्रिया पहिलो दिनमै अघि बढाएका जनाइएको छ ।

उनको टोलीका अनुसार सय दिनभित्रै बृहत् आप्रवासी योजना पनि पेस गर्ने बताएका छन् । चुनावी अभियानका बेला बाइडेनले अघि सारेको आप्रवासी योजनाले अमेरिकामा रहेका लाखौं विदेशीले बिनाकागजात नागरिकता पाउने बाटो खुल्नेछ । बाइडेनले कोरोना राहत प्याकेजको भुक्तानी प्रक्रिया पनि अघि बढाउने बताइएको छ ।

ह्‍वाइटहाउसमा राष्ट्रपति जो बाइडेन फस्ट लेडी जिल बाइडेनसँग र उपराष्ट्रपति कमला ह्यारिस सेकेन्ड जेन्टलम्यान डोग एमफसँग तस्बिर : रोयटर्स

युरोपेली संघ (ईयू) ले बाइडेनको कार्यकालको स्वागत गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्सॅला भोन डर लियनले बाइडेनको कार्यकालको सुरुवातलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानीको संज्ञा दिएकी छन् । ‘अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम् विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली संघ तयार छ,’ उनले भनिन् ।

उनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न विश्वव्यापी साझेदारी आवश्यक रहेकामा जोड दिइन् । उनले जलवायु परिवर्तनसँग जुध्नका लागि गरिएको पेरिस सम्झौतामा फर्कने बाइडेनको निर्णयको प्रशंसा गरेकी छन् । जर्मनीका राष्ट्रपतिले पनि बाइडेनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति मिलेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उपराष्ट्रपति कमला ह्यारिस तस्बिर : रोयटर्स

ट्रम्प प्रशासन पूर्ण रूपमा विस्थापित भएको छ । कर्मचारीका डेस्क खाली पारिएका छन् । कोठा सफा गरिएको छ । राजनीतिक नियुक्ति पाएका बाइडेन प्रशासनका सदस्यले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हालेका छन् ।

ह्वाइटहाउसका पश्चिमतर्फका कार्यालयहरू खाली गरिएको छ । यो निकै पुरानो परम्परा पनि हो । बाइडेनले कार्यभार सम्हालेसँगै ट्रम्प प्रशासनका करिब ४ हजार कर्मचारी जागिरबाट बिदा भएका छन् । यी पदमा बाइडेनले कर्मचारी नियुक्त गर्नेछन् । त्यसका लागि महिनौं वा वर्ष दिनसम्म पनि लाग्नेछ ।

सम्बन्धित समाचार

अन्तत: ट्रम्पले छाडे ह्वाइटहाउस

प्रकाशित : माघ ८, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?