२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अन्तत: ट्रम्पले छाडे ह्वाइटहाउस

भन्छन् ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’
एजेन्सी

वासिङ्टन — दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः ह्वाइटहाउस छाडेका छन् । ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका थिए ।

अन्तत: ट्रम्पले छाडे ह्वाइटहाउस

तर राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन् ।

ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । ट्रम्पले ऐतिहासिक संस्कार विधिसमेत लत्याएका छन् । राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका हुन् । कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले तुलनात्मक रूपमा केही सकारात्मक अभिव्यक्ति दिएका छन् । छोटो भिडियो सम्बोधनमा उनले आफ्नो प्रशासनको बचाउ गरेका थिए ।

‘अमेरिका कातर आत्माहरूको देश होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने, ‘हामी सधैं संसारका लागि आशा, प्रकाश तथा गौरवको भूमि हौं र भविष्यमा पनि रहिरहनुपर्छ ।’ आगामी प्रशासनबारे समेत उनले केही सुझाव दिएका छन् ।

‘नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने । आफू निर्वाचित हुनुको उद्देश्य पूर्ण रूपमा प्राप्त भएको ट्रम्पको दाबी छ । उनले भने, ‘हामी जे गर्न आएका थियौं त्यो भयो । सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भयौं ।’

ट्रम्पले आफ्ना एजेन्डा दक्षिणपन्थी वा वामपन्थी नभएको दाबी गरे । ‘ती रिपब्लिकन वा डेमोक्र्याट पनि थिएनन् । बरु देशका लागि जे सही हुन्छ त्यही थिए,’ उनले भने । आफ्नो कार्यकालमा अमेरिकाका सहयोगी गठबन्धन देशहरूलाई अभूतपूर्व रूपमा चीनको सामना गर्न सहयोग पुर्‍याएको दाबी ट्रम्पको छ ।

‘हाम्रो बलियो कूटनीति तथा सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्तिसम्झौताहरू गर्न सफल भयौं । खासगरी कुनै नयाँ युद्ध सुरु नगरेको पहिलो राष्ट्रपतिका रूपमा आफू उभिन पाएकामा म एकदमै गर्व गर्छु,’ ट्रम्पले भने । सम्बोधनका क्रममा ट्रम्पले आफ्नो आन्दोलन सुरु भएको बताए । ‘जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदै छु, म चाहन्छु तपाईंहरूले बुझ्नुहोस् कि हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’

विवादित कार्यकाल

आफ्नो चारवर्षे कार्यकालका क्रममा ट्रम्पले चालेका अधिकांश कदमहरू विवादित बने । सन् २०१६ मा सत्ता सम्हालेलगत्तै इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै उनले इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरे ।

त्यसका साथै उनले पेरिस जलवायु सम्झौता र ट्रान्स–प्यासिफिक व्यापार सम्झौता खारेजीको घोषणा गरे । यी सम्झौताले अमेरिकी रोजगारमाथि धावा बोलेको उनको भनाइ थियो । आप्रवासी र मुस्लिमसम्बधी ट्रम्पका नीति अमेरिकाभित्रै निकै विवादित भए ।

त्यसका साथै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा आवश्यक कदम नचालेको भन्दै ट्रम्प निकै विवादित भए । कोरोनालाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका ट्रम्पका मनगढन्ते अभिव्यक्तिको भर परेर धेरै अमेरिकीले ज्यान गुमाएका अध्ययनहरूले देखाएका छन् । कोरोना नियन्त्रणमा प्रभावकारी मानिएका मास्क तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्नेजस्ता नियमलाई उनले उपहास गरे ।

ट्रम्पका कारण उत्पन्न व्यापार युद्धका कारण अमेरिका र चीनबीचको सम्बन्ध इतिहासकै गम्भीर मोडमा पुगेको आकलन गरिएको छ ।

प्रकाशित : माघ ७, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?