ट्रम्पको बिदाइ सम्बोधन : ‘आगामी प्रशासनलाई शुभकामना’- विश्व - कान्तिपुर समाचार

ट्रम्पको बिदाइ सम्बोधन : ‘आगामी प्रशासनलाई शुभकामना’

‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ ।’
इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका छन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ । 

तस्बिर : द ह्वाइट हाउसको युट्युबबाट स्क्रिनग्र्याब

सम्बोधनका क्रममा ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरे । ‘तपाईंहरुले चुनेअनुसार मैले कठिन लडाइँ र कठिन द्वन्द्वको सामना गरेँ,’ ट्रम्पले सम्बोधनका क्रममा भने ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् । नेपाली समयअनुसार बुधबार राति जो बाइडेन र कमला ह्यारिसले अमेरिकाको आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् ।

केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पको उक्साहटमा उक्त हिंसा मच्चिएको आरोप लागेको थियो । पछि ट्रम्पले उक्त हिंसात्मक प्रदर्शनको आलोचना गरेका थिए । बिदाइ सम्बोधनका क्रममा पनि उनले हिंसात्मक प्रदर्शन स्वीकार्य नभएको बताएका छन् । ‘राजनीतिक हिंसा अमेरिकी गौरवमाथिको आक्रमण हो, यो कदापि स्वीकार्य छैन,’ ट्रम्पले भने ।

संसद् भवनमा भएको हिंसामा ट्रम्पकै हात रहेको भन्दै अमेरिकी संसद्मा अविश्वास प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा दुई पटक अविश्वास प्रस्तावको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । पहिलो पटक उनलाई चुनाव जित्न युक्रेनसँग साँठगाँठ गरेको आरोपसहित महाभियोग दर्ता भएको थियो । तर त्यो प्रस्ताव अमेरिकी संसद्को माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको थियो । महाभियोग प्रस्ताव पारितका लागि १०० सदस्यीय सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।

करिब २० मिनेटको सम्बोधनमा ट्म्पले आफ्नो कार्यकालको उपलब्धि, अमेरिकी नीति, विदेश नीति र आफ्नो विरासतबारे पनि टिप्पणी गरेका छन् । उनले सम्बोधनका क्रममा भने, ‘बुधबार मैले नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पिँदैछु । हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ भनेर तपाईंहरुले बुझ्नुहुनेछ भन्ने म चाहन्छु ।’

त्यस्तै ट्रम्पले आफूहरुले वाचा गरेभन्दा धेरै काम गरेको उल्लेख गर्दै भने, ‘हामी जे गर्न भनेर आएका थियौँ, हामीले त्योभन्दा अझ बढी काम गऱ्यौँ ।’

आफूहरुले अमेरिकी सरकार जनताप्रति पूर्ण जवाफदेही हुन्न भन्ने मान्यतालाई पुन:स्थापित गरेको पनि ट्रमपको दाबी थियो । त्यस्तै उनले बाइडेनको नाम नलिइकन उनको टिमलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् । ट्रम्पले भने, ‘आगामी प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न बनाइराखोस् भन्न हामी कामना गर्छौँ ।’ उनले सम्बोधनमा अगाडि भने, ‘हामी उनीहरुलाई शुभकामना दिन्छौं, त्यसका साथै हामी उनीहरुका लागि पनि भाग्यले साथ देओस् भन्ने चाहन्छौँ ।’

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले अमेरिकी समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्नेछन् ।

प्रकाशित : माघ ७, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

माधव नेपाल छिट्टै जेल जान्छन् : कर्ण थापा

वसन्तप्रताप सिंह

बझाङ — नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् ।

बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा सम्बोधनक्रममा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रसंग कोट्याउँदै उनले यस्तो बताएका हुन् । ‘हेर्नुहोला माधव नेपाल छिट्टै जेल जानेवाला छन्,’ उनले भने, ‘त्यही काम गरेका दीप बस्न्यात जेल जाने, गच्छदार दोषी हुने अनि माधव नेपाल किन नजाने ?’

तत्कालीन समयमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्न बस्न्यातले उठाएको टिप्पणीमा तत्कालीन प्रधानमन्त्री नेपालसँग पटक–पटक छलफल गरिएको कुरा लिखित रूपमै उल्लेख भएकाले नेपाल उक्त प्रकरणमा मुख्य दोषी रहेको उनको भनाइ थियो । ‘त्यो लिखत आवश्यक परे जनतालाई बाँड्न तयार छौं,’ उनले भने ।

उनले तत्कालीन माओवादी लडाकुको विषय छानबिन हुने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कारबाही हुने बताए । ‘६/७ हजार लडाकुलाई ३७ हजार पुर्‍याएँ भनेर प्रचण्डले बोलेको भिडियो तपाईंहरूले देख्नुभएकै होला,’ उनले भने, ‘लडाकुले पाएको चेक खोसेर खाएको कुरा पनि सबैसामु छर्लंगै छ ।’ उनले भ्रष्टहरूले आफ्ना कर्तुत ढाकछोप गर्नका लागि गठबन्धन बनाएको आरोप लगाउँदै त्यो सफल नहुने ठोकुवा गरे ।

केपी शर्मा ओलीको जोडबलमा सुशील कोइराला सरकारका पालामा मन्त्री भएका थापाले झन्डै दुई घण्टा लामो भाषणमा धेरैजसो समय दाहाल–नेपाल समूहका नेता भीम रावलको विरोधमा खर्चेका थिए ।

आफूले पद नपाएका कारण रावलले नेपाल र दाहाललाई उचालेर पार्टीलाई फुटको बिन्दुसम्म पुर्‍याएको उनको आरोप छ । उनले दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठको आरोपपत्र पनि रावल र सुरेन्द्र पाण्डेले तयार गरेको र दाहालले हस्ताक्षर मात्रै गरेको दाबी गरे ।

सम्बन्धित समाचार

ललिता निवास प्रकरण : करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष

प्रकाशित : माघ ७, २०७७ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×