कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र भारतबीच शत्रुता कल्पना पनि गर्न सकिन्‍न : भारतीय रक्षामन्त्री सिंह

नेपालले आफ्नो देशबारे जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका छन् ।

नेपाल र भारतबीच शत्रुता कल्पना पनि गर्न सकिन्‍न : भारतीय रक्षामन्त्री सिंह

भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले ज्ञवाली फर्केकै दिन त्यस्तो धारणा राखेका हुन् । ‘नेपालसँगको शत्रुता आफूले कुनै पनि अवस्थामा कल्पना गर्न सकिँदैन,’ जनस्तरमा प्रगाढ सम्बन्ध भए पनि सरकारसँग त छैन नि भन्ने प्रश्नमा उनको जवाफ थियो ।

मन्त्री ज्ञवाली गत साता परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त बैठकका लागि दिल्ली आएका थिए । दिल्लीमा रहँदा नेपाली पक्षले मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास गरे पनि सफल भएन । मोदीले भेट नदिएको भन्दै नेपालमा भारतको चर्को विरोध भइरहेको छ । तर, ज्ञवालीले दिल्ली फर्किनुअघि सिंहसँग भने भेटेका थिए । ज्ञवाली र सिंहको भेटलाई दुवै पक्षले सौहार्दपूर्ण भएको बताएको थियो । सिंहलाई नेपाल मामिलाका जानकारका रूपमा समेत लिइन्छ ।

सिंहले नेपाल छिमेकी मात्र नभएर भाइ पनि भएकाले नेपालले भारतका बारेमा जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने सोमबारको अन्तर्वार्तामा बताएका छन् । ‘नेपालसँग धेरै नै प्रगाढ सांस्कृतिक सम्बन्ध छ । नेपाल हाम्रो छिमेकी मात्र नभएर भाइ पनि हो । त्यसैले नेपालले हाम्रोबारेमा जे टिप्पणी गरे पनि म कुनै पनि प्रतिकूल टिप्पणी गर्न सक्दिनँ,’ उनले भनेका छन् ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव चुलिएको हो । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो । नेपालमा चर्को विरोध भएपछि उनले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताएका थिए । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका थिए । त्यसपछि दुई मुलुकबीचको सम्बन्ध थप तनावपूर्ण बन्न पुगेको हो ।

रक्षामन्त्री सिंहले गत वैशाखमा पनि दाजुभाइका बीचका कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको र त्यसलाई संवादबाट हल गर्न सकिनेसमेत जिकिर गरेका थिए । त्यसैगरी उनले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताएका थिए ।

आइतबारको अन्तर्वार्तामा उनले दाजुभाइको प्रसंग पुनः दोहोर्‍याएका छन् । मन्त्री सिंहले दाजुभाइमा अविश्वास सिर्जना भयो भने पनि त्यसलाई बातचितबाट समाधान गर्न सकिने पनि भनेका छन् ।

‘हाम्रो भाइ केही विषयलाई लिएर रिसाउँछ वा कुनै अविश्वास पैदा हुन्छ भने पनि ऊसँग बसेर बातचित गरेर सम्झाउँछौं, मनाउँछौं र उसलाई माया दिन्छौं किनभने ऊ हाम्रो परिवार हो,’ उनले भने । दाजुभाइको सम्बन्ध भनिए पनि केही समययता चीनसँग मिलेर भारतका सम्बन्धमा नकारात्मक टिप्पणी आइरहेका छन् नि ? भन्ने प्रश्नमा मन्त्री सिंहले त्यस्ता टिप्पणी जनताबाट नभएर केही नेताहरूबाट गरिएको बताए । ‘कसैले भन्यो होला । तर, भाइभाइबीचमा जग्गाका लागि झगडा भयो भन्दैमा एकअर्कालाई गोली त चलाउँदैनन् । त्यसैले समस्या छ भने बसेर समाधान निकाल्न सकिन्छ,’ नेपालका प्रधानमन्त्रीले समेत विरोध गरेका छन् त भन्ने प्रश्नमा उनको जवाफ थियो ।

साथै उनले दुई देशबीच रोटी–बेटीको सम्बन्ध भएको बिर्सन नहुने पनि बताएका छन् । ‘हामी यो रोटीबेटीको सम्बन्धलाई कहिल्यै टुट्न दिन्नौं,’ उनले अन्तर्वार्तामा भनेका छन् । त्यसैगरी उनले नेपालसँग सांस्कृतिक, सामाजिक मात्र नभएर विविध प्रकारको सम्बन्ध भएको समेत जिकिर गरेका छन् ।

प्रकाशित : माघ ६, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?