भर्चुअल ध्यान र योगमा बढ्यो आकर्षण
लन्डन — कोरोना भाइरसको महामारीका कारण यतिखेर मानिसको जीवनशैली खुम्चिएको छ । आफन्त, साथीभाइ भेटघाट शून्य छ, सोसलाइज गर्ने माहोल छैन । कतिलाई आफन्तजन गुमाउँदा असह्य पीडा छ, कतिलाई जागिर गुमेर संकट ।
यस्तो असहज परिस्थितिमा अहिले बेलायतका नेपालीले आफ्नो मन शान्त राख्ने उपाय रोजेका छन् भर्चुअल ध्यान र योग । आजकल नियमित भइरहेका त्यस्ता कार्यक्रममा बेलायतको नेपाली समुदाय पनि आकर्षित हुन थालेको छ ।
सोसाइटी अफ नेप्लिज फ्रोफेसनल्स यूकेका पूर्वउपाध्यक्ष दीप गिरीलाई चार वर्षअघिसम्म ध्यान वा योगप्रति चासो नै थिएन । चार वर्षअघि भारतबाट आएका गुरु डा. अभदूत बाबा शिवानन्दको प्रवचनपछि उनी ती गुरुका फलोअर भए । पछि उनले नेपाली गुरुहरूबाटै ध्यान र योग गर्न थाले ।
‘अहिले त बरु खाना छुट्छ, ध्यान छुट्दैन,’ जीवन विज्ञान यूकेले हालै आयोजना गरेको भर्चुअल सेसनमा सहभागी गिरीले भने, ‘स्वास्थ्य तन्दुरुस्त राख्न, महामारीका बेला इम्युनिटी पावर बढाउन, अनुहारमा चमक, जोस जाँगर र आत्मविश्वास जगाउन पनि योग र ध्यान अत्यावश्यक रहेछ ।’
यी कर्मले चिन्ता व्यवस्थापन भई जीवन आनन्दसँग बिताउन सकिने विश्वास उनमा छ । गत फेब्रुअरीमा दर्ता भएयता क्रियाशील जीवन विज्ञान यूके नामक संस्थाले लकडाउनका बेला निःशुल्क भर्चुअल ध्यान र योगलाई निरन्तरता दिएको छ । उसले हालै मात्र ९ दिने वर्कसप र २१ दिन लामो योग सेसन गर्यो ।
कोरोनाले मानिस बढी विक्षिप्त अनि उनीहरूमा डर, त्रास सिर्जना हुने क्रम बढेपछि अहिले आफूहरूले सातै दिन दैनिक डेढ घण्टा योग, प्रणायाम र ध्यान गरिरहेको जीवन विज्ञान यूकेकी संस्थापक जीवन विज्ञान प्रशिक्षिका सरिता शर्माले जनाइन् । ती सेसनमा दैनिक सहभागिता झन्डै ५० हाराहारी छ ।
उक्त संस्थाले बालबालिकामा लक्षित नवप्रतिभा विज्ञान कार्यक्रम पनि सुरु गरिरहेको छ । गत वर्ष नेपाल गएर वोध विज्ञान, लय विज्ञान, चक्र विज्ञान साधना प्रशिक्षण गरी २१ दिन तालिम लिएर लन्डन आएपछि आफूमा धेरै परिवर्तन आएको बताउँछिन् शर्मा ।
‘विश्व स्वास्थ्य संगठनले पनि शारीरिक, सामाजिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ मानिस नै पूर्ण स्वस्थ हो भनेको छ । तर हामीले आध्यात्मिक स्वस्थतर्फ कहिल्यै वास्ता गरेनौं’, शर्माले भनिन्, ‘त्यसकारण यो अति आवश्यक छ । कोरोनाले श्वासप्रश्वासमा असर गर्ने भएकाले अहिलेको महामारीमा प्राणायाम त झन् एकदम महत्त्वपूर्ण छ ।’ जीवन विज्ञान भनेको आफैंलाई अध्ययन गर्ने विज्ञान रहेको बताउँछिन् उनी । उनले भनिन्, ‘हामीले कहिल्यै आफ्नो शरीर, मन, भावना र चेतनालाई अध्ययन गरेनौं ।’
सोसाइटी अफ नेपलिज फ्रोफेसनल्स यूकेकी सहसचिव एवं उक्त संस्थाको आध्यात्मिक कार्यक्रम संयोजक सविता गिरी बेलायतका नेपालीमा ध्यान र योगप्रति चासो बढेको र यो अत्यावश्यक पनि भएको बताउँछिन् ।
प्रकाशित : माघ ५, २०७७ ०८:०१