१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतमा सुरु भयो खोप अभियान

आगामी जुलाईभित्र ३० करोड नागरिकलाई खोप दिने लक्ष्य, पहिलो चरणमा करिब ३ करोडलाई निःशुल्क खोप दिइँदै

नयाँदिल्ली — भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज (एम्स्) का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । 

भारतमा सुरु भयो खोप अभियान

प्रधानमन्त्री मोदीले खोप अभियानलाई कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण भनेका छन् । मोदीले अभियानको पूर्वसन्ध्यामा शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए । ‘भोलि बिहान साढे दस बजेदेखि भारतभर खोप अभियान सुरु हुँदै छ,’ मोदीले ट्वीटमा भनेका थिए । भारतमा हालसम्म १ करोड ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ५२ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

भारतले आगामी जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ । पहिलो चरणमा भने करिब ३ करोडलाई निःशुल्क खोप दिने घोषणा यसअघि गरिएको छ । त्यही पहिलो चरणअन्तर्गत शनिबारदेखि खोप लगाउन थालिएको हो । जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाउने योजना छ । त्यसपछि ५० वर्ष नाघेका र त्यो उमेरका भए पनि जटिल स्वास्थ समस्या भएकाहरूलाई खोप दिने योजना छ । शनिबारबाट सुरु हुने खोप कार्यक्रमलाई विश्कै हालसम्मकै ठूलो खोप अभियान दाबी गरिएको छ । अभियानको पहिलो दिन १ लाख ९१ हजार जनाले खोप लगाएका छन् । भारत सरकारले पहिलो दिन करिब ३ लाखलाई खोप लगाउने लक्ष्य राखेको थियो । त्यसका लागि भारतभर करिब ३ हजार खोप केन्द्र स्थापना गरिएको छ ।

त्यसैगरी खोप अभियानका लागि भनेर डेढ लाखभन्दा बढी कर्मचारीलाई तालिम दिइएको छ । भारत सरकारले केही साताअघि मात्र सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र अस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) सँग मिलेर कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । शनिबारदेखि सुरु हुन भएको अभियानमा दुवै खोप प्रयोगमा ल्याइएको छ । भारत बायोटेकको कोभ्याक्सिन खोपलाई अनुमति दिँदा हतारो गरिएकाले यसको प्रभावकारितालाई लिएर प्रश्न उठेको थियो । तर, खोप अभियानको भर्चुअल शुभारम्भ गर्दै मोदीले खोपबारे फैलिएका अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गरे । ‘हाम्रा वैज्ञानिक र विशेषज्ञहरूले भारतमा उत्पादित दुवै खोपको सुरक्षा र प्रभावकारिताका बारेमा आश्वस्त पारेपछि मात्र आपत्कालीन अनुमति दिइएको हो । त्यसैले हल्ला, गलत सूचना र प्रोपगान्डाबाट टाढा बस्नुस्,’ उनले भने ।

यसैबीच, भारतले नेपाललगायत छिमेकी मुलुकलाई पनि केही साताभित्र खोप आपूर्ति गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार सम्पन्न नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा पनि खोपको विषयमा छलफल भएको थियो । साथै त्यसअघिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी एस जयशंकरबीचको भेटवार्तामा पनि नेपाललाई चाँडै खोप उपलब्ध गराउने विषयमा छलफल भएको स्रोतले बताएको छ । ती छलफलमा नेपालले कोरोना खोपको आपूर्तिलाई सहज बनाइदिन अनुरोध गरेको बुझिएको छ ।

स्रोतका अनुसार नेपालको उक्त अनुरोधलाई भारतले सकारात्मक रूपमा लिएको बुझिएको छ । छलफलमा सहभागी एक उच्च नेपाली अधिकारीका अनुसार भारतले माघ महिनाभित्र खोपको पहिलो लट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त पनि गरेको छ । ‘भारतले केही परिमाणमा दुई साताभित्र दिने भनेको छ,’ ती अधिकारीले कान्तिपुरसँग भने । भारतले खोपमा छिमेकीहरूलाई प्राथमिकता दिने बताउँदै आएको छ । भारत सरकारनिकट स्रोतका अनुसार माल्दिभ्स, श्रीलंका, बंगलादेश, नेपाललगायत छिमेकीहरूलाई केही परिमाण अनुदानमा दिनुका साथै व्यापारिक खरिदमा पनि प्राथमिकता दिने सोचमा भारत रहेको छ । र, सम्भवतः भारतको गणतन्त्र दिवसको दिन अर्थात् आगामी जनवरी २६ का दिन मोदीले नै त्यसबारे औपचारिक घोषणा गर्ने स्रोतको दाबी छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?