२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

‘खोप लिन हिच्किचाए बेलायतका अल्पसंख्यक’

अध्ययनको कमी, बुझाइमा समस्या, खोपप्रतिको न्यून आत्मविश्वास प्रमुख कारण
नवीन पोखरेल

लन्डन — बेलायतमा अल्पसंख्यक जातीय समुदायले कोरोना भाइरसविरुद्धको खोप लगाउन हिच्किचाइरहेको एक अध्ययनले देखाएको छ । बेलायत सरकारको आपत्कालका लागि वैज्ञानिक सल्लाहकारहरुको समूह (सेज) ले सार्वजनिक गरेको एउटा दस्तावेजले उक्त समुदायले खोप लिने सम्भावना कम रहेको देखाएको हो ।

‘खोप लिन हिच्किचाए बेलायतका अल्पसंख्यक’

अश्वेत समूहका सबैभन्दा बढी ७२ प्रतिशत मानिस खोप नलिने मनस्थितिमा रहेको अध्ययनको निष्कर्ष छ । खोप लिन हिच्किचाउने दोस्रो ठूलो समूहमा पाकिस्तानी, बंगलादेशी छन् । उक्त समुदायका ४२ प्रतिशतले खोप लिने सम्भावना छैन ।

पूर्वी युरोपेली समुदायसहित अन्य श्वेत जातीय समूहमा पनि खोप नलिने हिच्किचाहट उच्च पाइएको छ ।

अध्ययनले जोखिमको बुझाइ, खोपप्रति न्यून आत्मविश्वास तथा विश्वासिलो प्रदायक संस्था र समुदायका नेताहरुको सचेतना पहल कमी रहेको बताएको छ ।

भ्रामक समाचारका कारण बेलायतको दक्षिण एसियाली समुदायले खोप लगाउन अस्वीकार गर्ने गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डका एसोसिएट चिफ क्लिनिकल इन्फरमेसन अफिसर डा. हरप्रित सुदले बताएका छन् । सुदले यो ज्यादै चिन्ताको विषय रहेको बताए । सांस्कृतिक अवरोध र भाषाले प्रमुख भूमिका खेलेको सुद बताउँछन् ।

रोयल सोसाइटी अफ पब्लिक हेल्थले गरेको पछिल्लो सर्वेक्षणले बेम (ब्ल्याक, एसियन एन्ड माइनोरिटी एथ्निक) समुदायमा आधाभन्दा बढीले खोप नलगाउने बताएका देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ७९ प्रतिशत श्वेत र बेम समुदायले ५७ प्रतिशतमात्र खोप लगाउने बताएका थिए ।

बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडा बेम ग्रुपले कोभिड मात्र नभई विगतदेखि नै आफ्नो स्वास्थ्य सुरक्षा अपनाउन आनाकानी गर्ने गरेको बताउँछन् ।

‘अश्वेत मानिस स्मेयर टेस्ट, प्रोटेस्ट क्यान्सरजस्ता रोगको परीक्षण गर्न त हिच्किचाएको पाइएको छ’, सिम्खडाले भने, ‘यसमा मानिसहरुको अन्धविश्वास, धर्म, अध्ययन र भाषा दक्षताको कमी आदि पक्षले पनि उल्लेख्य भूमिका खेलेको छ ।’

कोभिड खोपमा मानिसहरुको विश्वास अझै नबढ्नुमा मिडियाको नकारात्मक कभरेजलाई पनि दोष दिन्छन् सिम्खडा । ‘फ्लु भ्याक्सिन ५० प्रतिशतमात्र प्रभावकारी हुन्छ । कोभिड त ९० प्रतिशतसम्म प्रभावकारी र सुरक्षित पाइएको छ’, सिम्खडाले कान्तिपुरसँग भने, ‘खोप विकास गर्ने वैज्ञानिक आफैंले खोप लगाएका छन् । हामीले विज्ञानलाई विश्वास गर्नै पर्छ । ९० प्रतिशत भनेपछि सय जनामा १० जनालाई त काम नगर्न सक्छ नि ।’

सिम्खडाले बेलायतको नेपाली समुदायका नेताहरुले पनि नेपालीलाई खोप लगाउन प्रेरित हुने खालका कार्यक्रम ल्याउन सुझाए । खोपको अवसर पाएकाले पनि नलिएको मैले नै थाहा पाएको छु,’ उनले भने, ‘त्यस्तो डराउनुपर्ने केही छैन । मैले पाउने भए भोलि नै लगाउँथे ।’

गत बिहीबार खोप दिएकी सेन्ट्रल मिडलसेक्स अस्पतालमा कार्यरत शशी गुरुङले आफूलाई सामान्य पाखुरा दुखाइबाहेक अरू केही नभएको बताइन् । ‘मसँगै काम गर्ने धेरैजसो अश्वेतले म त नलगाउने मरिन्छसम्म भनेको सुनें,’ उनले भनिन्, ‘सारा विश्वजगत्ले नै लगाइरहेको अवस्थामा डराउनुपर्छजस्तो मलाई लाग्दैन ।’

भाइरसको चपेटामा परेको बेलायतमा अहिलो खोपलाई तीव्रता दिइएको छ । हाल बेलायतमा तीनवटा खोप कम्पनीले मान्यता पाए पनि फाइजर बायोएनटेक र अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित खोप वितरण भइरहेको छ ।

गत डिसेम्बरदेखि १४ जनवरी शुक्रबारसम्म बेलायतमा करिब ३२ लाखले कोभिड खोप लिइसकेका छन् । पब्लिक हेल्थ इंग्ल्यान्डले १० जनवरीसम्म इंग्ल्यान्डमा ८० वर्षमाथिका एक तिहाइ (करिब १० लाख ३७ हजार) ले खोपको पहिलो डोज लगाइसकेको जनाएको छ ।

सरकारले मध्य फेब्रुअरीसम्म करिब १५ मिलियन मानिसलाई खोप दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बेलायतका करिब एक सय मस्जिदमा प्रत्येक शुक्रबार हुने प्रार्थनासभाका बेला कोभिड खोपबारे जनचेतना जगाउने कार्य सुरु गरिएको छ ।


प्रकाशित : माघ ३, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?