भारतमा शनिबारदेखि कोरोना खोप अभियान

दुई साताभित्र नेपाललाई पनि दिने 'प्रतिबद्धता'

नयाँदिल्ली — भारतले शनिबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्।

भारतमा शनिबारदेखि कोरोना खोप अभियान

मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए । 'भोलि बिहान साढे दस बजेदेखि भारतभर खोप अभियान सुरु हुँदैछ ,' मोदीले ट्वीटमा भनेका थिए ।

पहिलो चरणअन्तर्गत शनिबारदेखि खोप लगाउन थालिएको हो। भारत सरकारले पहिलो चरणमा करिब तीन करोडलाई नि:शुल्क खोप दिने घोषणा यसअघि नै गरिसकेको छ । जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाउने योजना छ।

त्यसपछि पचास वर्ष नाघेका र त्यो उमेरका भएपनि जटिल स्वास्थ समस्या भएकाहरुलाई खोप दिने योजना छ। भारत सरकारले आगामी जुलाईभित्रमा आफ्ना करिब तीस करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ ।

शनिबारबाट सुरू हुने खोप कार्यक्रमलाई विश्कै हालसम्मकै ठूलो खोप अभियान दाबी गरिएको छ। पहिलो दिनमा करिब तीन लाख स्वास्थ्कर्मीलाई खोप दिने बताइएको छ। यसका लागि भारतभरमा तीन हजार केन्द्र रहने जनाइएको छ।

भारत सरकारले केही साताअघि मात्र सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर बनाएको कोभिसिल्ड र भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) सँग मिलेर कोरोनाभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।शनिबारदेखि सुरु हुन लागेको अभियानमा तीनै दुई खोप लगाइने भएको छ। खोप अभियानका लागि भनेर डेढ लाखभन्दा बढी कर्मचारीलाई तालिम दिइएको छ।

यसैबीच भारतले नेपाल लगायत छिमेकी मुलुकलाई पनि केही साताभित्र खोप आपूर्ति गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार सम्पन्न नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा पनि खोपको विषयमा छलफल भएको थियो । साथै त्यसअघिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी एस जयशंकरबीचको भेटवार्तामा पनि नेपाललाई चाँडो खोप उपलब्ध गराउने विषयमा छलफल भएको स्रोतले बताएको छ । ती छलफलमा नेपालले कोरोना खोपको आपूर्ति लाई सहज बनाइदिन अनुरोध गरेको बुझिएको छ ।

स्रोतका अनुसार नेपालको उक्त अनुरोधलाई भारतले सकारात्मक रूपमा लिएको बुझिएको छ । छलफलमा सहभागी एक उच्च नेपाली अधिकारीका अनुसार भारतले आगामी दुई साताभित्र पहिलो खेपको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त पनि गरेको छ । ' भारतले केही परिमाणमा दुई साताभित्र दिने भनेको छ,' ती अधिकारीले कान्तिपुरसँग भने ।

प्रकाशित : माघ ३, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?