१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय

गोकुल थोकर

सोल, दक्षिण कोरिया — दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो ।

भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो ।

उनलाई आफ्नो साथी चोइ सुन सिललाई ७७.४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको पाइएको थियो । साथै उनले तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा अवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगमा समेत दुई वर्ष जेल सजाए पाएकी थिइन् ।

कोरियाको विकासका लागि आधार बनाएको भन्दै जस पाउँदै आएका तेस्रा राष्ट्रपति पार्क जङ ह्युईकी छोरी ६८ वर्षीया हेले २२ वर्ष जेल साजाए कटाउँदा ८७ वर्षकी हुने छिन् ।

पदमा वहल हुँदै महाअभियोगबाट निस्कासित हुने उनी पहिलो राष्ट्रपति पनि बनेकी छिन् । कोरियामा यसअघि पनि तीन जना पूर्व राष्ट्रपति भ्रष्टचारको अभियोगमा जेल गइसकेका छन् । हेले आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छन् । बिहीबार भएको फैसलामा उनी अदालतामा उपस्थित थिइनन् ।

प्रकाशित : माघ १, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?