‘चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी’

एजेन्सी

ब्रासिलिया — चीनको सिनोभ्याकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप ५० प्रतिशत मात्र प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले जनाएका छन् । ब्राजिलमा गरिएको परीक्षणमा उक्त खोप ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको बताइएको हो । 

‘चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी’

नयाँ तथ्यांकअनुसार सिनोभ्याकको खोप यसअघि दाबी गरिएको भन्दा एकदमै कम प्रभावकारी रहेको देखिएको हो । खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ । ब्राजिल सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेका दुइटा खोपमध्ये एउटा सिनोभ्याकले बनाएको कोरोनाभ्याक खोप हो ।

कोरोनाभ्याक खोपले मृतप्रायः कोरोना भाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउने जनाइएको छ । इन्डोनेसिया, टर्की र सिंगापुरले यो खोप किन्न आफूहरू तयार रहेको बताइसकेका छन् ।

ब्राजिलमा गरिएको परीक्षणमा बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले उक्त खोप कोरोना भाइरसका मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको गतसात बताएका थिए । तर मंगलबार उनीहरूले उक्त तथ्यांकमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका संक्रमण भएका व्यक्तिहरूको तथ्यांक नसमेटिएको बताएका हुन् । उक्त तथ्यांकबिना यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटले भने उक्त खोप उपचार आवश्यक पर्ने मध्यम संक्रमणमा ७८ प्रतिशत र गम्भीर संक्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको बीबीसीले जनाएको छ । सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको जनाइएको छ ।

टर्कीका अध्ययनकर्ताहरूले गत महिना यो खोप ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । त्यस्तै इन्डोनेसियाली अधिकारीले यो खोप कोरोनाविरुद्ध ६५.३ प्रतिशत प्रभावकारी रहेका जनाएका थिए । यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले चिनियाँ कम्पनीले उत्पादन गरेका दुइटा खोप सिनोफार्म र सिनोभ्याकको आपत्कालीन प्रयोगबारेमा अनुसन्धान भइरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले संगठनका विशेषज्ञहरूले त्यसबारे अध्ययन गरिरहेका जनाएका हुन् । उनले चीनका ती कम्पनीहरूले उत्पादन गरेका खोपहरूको आपत्कालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरूले काम गरिरहेका समेत बताए ।

महानिर्देशक गेब्रेयसेसले भने, ‘मलाई यस कारणले खुसी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ ।’

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरूलाई छिटो छिटो खोपहरू उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरू संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

प्रकाशित : माघ १, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?