कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

एजेन्सी

वासिङ्टन — राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पास गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

डेमोक्र्याटहरूले संसद्‍मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्‍मा मतदान भएको हो । ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका थिए । त्यस्तै विपक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्‍मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताएकी छन् ।

जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नका लागि डेमोक्रेटिक दलले दुइटा योजना अघि सारेको हो । अमेरिकी संविधानमा रहेको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिने डेमोक्र्याटहरूको पहिलो योजना हो । संविधानको २५ औं संशोधनअनुसार पेन्सले ट्रम्प अयोग्य रहेको घोषित गर्दै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी आफूमा ल्याउन सक्छन् ।

तर पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने महाअभियोग लगाउने प्रक्रियाका निम्ति प्रस्तुत प्रस्तावमा बुधबार छलफल सुरु हुने डेमोक्र्याटहरूको भनाइ छ । महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आवश्यक सांसद संख्या आफूहरूसँग रहेको दाबी गरेका छन् ।

प्रकाशित : पुस २९, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?