ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनबाट पास

एजेन्सी

वासिङ्टन — राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पास गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधबार पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

डेमोक्र्याटहरूले संसद्‍मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५औं संशोधनमार्फत ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्‍मा मतदान भएको हो । ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका थिए । त्यस्तै विपक्षमा २०५ मत परेको थियो । ट्रम्पलाई २५औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका एक सांसदको पनि मत आएको थियो ।

डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरिसकेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका जो बाइडेनको जित उल्टाउने प्रयासस्वरूप ट्रम्पले आफ्ना समर्थकलाई संसद्‍मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको बताएकी छन् ।

जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नका लागि डेमोक्रेटिक दलले दुइटा योजना अघि सारेको हो । अमेरिकी संविधानमा रहेको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिने डेमोक्र्याटहरूको पहिलो योजना हो । संविधानको २५ औं संशोधनअनुसार पेन्सले ट्रम्प अयोग्य रहेको घोषित गर्दै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी आफूमा ल्याउन सक्छन् ।

तर पेन्स ट्रम्पलाई हटाउन तयार भएनन् भने महाअभियोग लगाउने प्रक्रियाका निम्ति प्रस्तुत प्रस्तावमा बुधबार छलफल सुरु हुने डेमोक्र्याटहरूको भनाइ छ । महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आवश्यक सांसद संख्या आफूहरूसँग रहेको दाबी गरेका छन् ।

प्रकाशित : पुस २९, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

युट्युबद्वारा ट्रम्पको च्यानल एक साताका लागि निलम्बन

रासस, सिन्ह्वा,

वासिङ्टन — गूगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।

साथै आफ्नो नीतिविपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ । कम्तीमा अब एक साता ट्रम्पले युट्युबबाट लाइभ गर्न र नयाँ भिडियो पोस्ट गर्न पाउने छैनन् ।

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेनविरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, 'हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।'

ट्विटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार सब्सक्राइबर रहेका छन् ।

सम्बन्धित समाचार

हिंसा भड्किनुअघिको सम्बोधन गलत थिएन : ट्रम्प

प्रकाशित : पुस २९, २०७७ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×