कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘क्यूएनएन’ सँग सम्बन्धित ७० हजारभन्दा बढी अकाउन्टमाथि ट्विटरको प्रतिबन्ध

के हो क्यूएनएन कन्स्पिरेसी थिअरी ? यसले कस्तो प्रभाव पारिरहेको छ ?

काठमाडौँ — ट्विटरले कथित ‘क्यूएनएन कन्स्पिरेसी थिअरी’ सँग सम्बन्धित ७० हजारभन्दा बढी अकाउन्ट बन्द गरिदिएको छ । पछिल्ला दिनमा उक्त समूहमा विश्वास गर्नेहरुले अफवाह फैलाउँदै हिंसालाई प्रोत्साहन गरेकाले ट्विटरले ती अकाउन्ट बन्द गरेको जनाएको छ । ‘

‘क्यूएनएन’ सँग सम्बन्धित ७० हजारभन्दा बढी अकाउन्टमाथि ट्विटरको प्रतिबन्ध

यी अकाउन्टहरुबाट क्यूएनएनसँग सम्बन्धित सामग्री ठूलो मात्रामा सेयर गरिएको र यसको प्राथमिक उद्देश्य षड्यन्त्रलाई बढावा दिने देखिएकाले हटाइएको छ,’ ट्विटरले आफ्नो ब्लगपोस्टमा लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै उक्साहटमा अमेरिकी संसद् भवनमा आक्रमण भएपछि सोसल मिडिया कम्पनीहरुले यस्ता अकाउन्ट र कन्टेन्टबाट आफूलाई टाढा राखेका छन् । ट्विटरले राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि स्थायी रुपमा प्रतिबन्ध लगाएको छ । फेसबुकले पनि कम्तीमा बाइडेनको शपथग्रहणसम्म ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाउने भएको छ ।

के हो क्यूएनएन कन्स्पिरेसी थिअरी ?

यो एउटा यस्तो संयुक्त शब्दावली हो जसमा विभिन्न निराधार विषयको प्रचारबाजी गरिँदै आएको छ । सन् २०२० मा लकडाउनका दौरान यो शब्दाबली इन्टरनेटमा निकै पढिएको र सुनिएको थियो । यो समूहमा रहेका मानिसहरुले विश्व बालबालिकामाथि यौन शोषण गर्नेहरुको कब्जामा आएको हल्ला फैलाउँदै आएका छन् । उनीहरुले यस्ता व्यक्तिहरुको सरकार, व्यापार र सञ्चारमाध्यम चलाएको हल्ला फैलाउँदै उनीहरुविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्त युद्ध चलाइरहेको हल्ला फिँजाएका छन् ।

यस्तो निराधार सिद्धान्तमा विश्वास गर्नेहरुले अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहेकी हिलारी क्लिन्टनलाई पक्राउ गरी सजाय दिनेसम्मका कुरा गर्दै आएका छन् । यिनीहरुले क्लिन्टनसहित, बाराक ओबामा, ओप्रा विन्फ्रे, पोप फ्रान्सिस, दलाई लामालगायतका व्यक्तिका बारेमा अफवाह फैलाइरहेका छन् । अझ यिनीहरुले त ठूला ठूला पदमा रहेका व्यक्तिले बालबालिकामाथि यौन शोषण गर्ने र त्यसपछि उनीहरुको हत्या गरी रगत पिउने कुरासमेत फैलाएका छन् ।

क्यूएनएको सुरुवात सन् २०१७ को अक्टोबरमा सुरु भएको थियो । त्यतिबेला एक अपिरिचित व्यक्तिले मेसेजबोर्ड ‘फोरचान’ मा ‘क्यू क्लियरेन्स’ का नामबाट लगातार थुपै्र पोस्ट गरेका थिए । जसमा ट्रम्पलाई समर्थन गरिएका थुप्रै नाराहरुसमेत थिए । त्यसमा ट्रम्प बाल यौनशोषणविरुद्धको विश्वव्यापी षड्यन्त्रविरुद्ध प्रयास गरिरहेको सबैको पोल खुलेपछि आँधीबेहरी आउने बताइएको थियो ।

यसले कस्तो प्रभाव पारिरहेको छ ?

क्यूएनएन समर्थकले सामाजिक सञ्जालमा ह्यासट्याग प्रयोग गरी राजनीतिज्ञ, सेलेब्रिटी, पत्रकारहरुविरुद्ध गाली गर्ने मात्रै होइन, कहिलेकाहीँ भौतिक रुपमा आक्रमणमा समेत उत्रिएका छन् । केही त पक्राउ भएको पनि बताइन्छ । सन् २०१८ मा एक जना व्यक्तिले हतियारसहित नेभादास्थित हुभर ड्यामको पुल ब्लक गरेका थिए । म्याथ्यु राइट नाम गरेका ती व्यक्तिलाई पक्राउ गरी आतंकवादविरुद्धको मुद्दा चलाइएको छ ।

प्यु रिसर्च सेन्टरले सेप्टेम्बरमा गरेको एउटा अध्ययनअनुसार अमेरिकी नागरिकमध्ये आधाले क्यूएनएनका बारेमा सुनेका छन् । यो संख्या ६ महिनाअघिको भन्दा दोब्बर भएको पनि सेन्टरले जनाएको छ । बेलाबेला राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले पनि क्यूएनएन समर्थकका मिम इन्स्टाग्राममा पोस्ट गर्ने गरेका थिए ।

फेसबुक, ट्विटर, रेडिट, युट्युबलगायतका ठूला सामाजिक सञ्जालहरुले क्यूएनएनसँग सम्बन्धित कन्टेन्टलाई नियन्त्रण गरेका छन् । त्यसैले यसको प्रभाव कम भएको बताइन्छ । तर यसका बाबजुद पनि क्यूएनएनले फैलाउने यस्ता निराधार सिद्धान्तमा विश्वास गर्नेको संख्या लाखौ भएको बताइन्छ ।

-विभिन्‍न न्युज एजेन्सीहरुको सहयोगमा

प्रकाशित : पुस २८, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?