३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस

उपराष्ट्रपति माइक पेन्सले ट्रम्प पदका लागि अयोग्य रहेको घोषणा नगरे महाभियोग प्रक्रिया सुरु गर्ने तयारी
एजेन्सी

वासिङ्टन — ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ ।

संसद्‍मा भएको आक्रमणका लागि मुख्य जिम्मेवार रहेको भन्दै डेमोक्रेटहरूले ट्रम्पलाई पदबाट हटाउन चाहेका हुन् । उपराष्ट्रपति पेन्सले ट्रम्प राष्ट्रपति पदमा रहिरहन अयोग्य रहेको घोषणा गर्नुपर्ने डेमोक्रेटहरूको माग छ । अमेरिकी संविधानको २५ औं संशोधनअनुसार उपराष्ट्रपतिले बहालवाला राष्ट्रपति पदमा बसिरहन अयोग्य रहेको घोषणा गर्न सक्नेछन् ।

उपराष्ट्रपति पेन्सले भने उक्त आग्रह अस्वीकार गर्ने बताएका जनाइएको छ । पेन्सले राष्ट्रपति ट्रम्पको कार्यकाल केही दिन मात्रै बाँकी रहेको र २५औं संशोधनअनुसार हटाउँदा त्यसको परिणाम नराम्रो हुन सक्ने बताउँदै आएका छन् । उनले विश्वलाई अहिले पनि अमरिकी सरकार पूर्ण रुपमा सञ्चालन भइरहेको छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । पेन्सले राष्ट्रपति हटाउने घोषणा गरेको खण्डमा संसद्मा ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्तावमाथि हाउस अफ रेप्रिजेन्टेटिभ्समा मतदान हुनेछ । एक डेमोक्रेट नेताका अनुसार त्यस्तो मतदान छिटोमा मंगलबारसम्ममा हुनेछ ।

संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए । तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै डेमोक्रेटिक दलले माथिल्लो सदन सिनटमा सुनुवाइका लागि प्रस्ताव नपठाउन सक्छ । बाइडेनले जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा आफू उपस्थित नहुने बताइसकेका छन् ।

‘आफ्नो प्राथमिकता निर्धारण गरी त्यसलाई कार्यान्वयनको गति दिन राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई एक सय दिन दिऊँ,’ क्लाइबर्नले भने । त्यसबाट बाइडेनलाई मन्त्रिपरिषद् गठन गर्न र कोरोना भाइरससँग जुध्ने, अर्थतन्त्र सुधार्नेलगायत नीति सुरु गर्ने बाटो खुल्नेछ । यदि माथिल्लो सदनले महाअभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुन सक्छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ‘राजनीति प्रेरित’ भन्दै महाअभियोगको सम्भावना खारेज गरेको बीबीसीले जनाएको छ । त्यस्तो कदमले ‘देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ ।

यदि उनलाई दोषी ठहर्‍याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्न सक्छ । तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाअभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताएका छन् ।

लगभग सबैजसो डेमोक्रेट तथा केही रिपब्लिकनहरूले ट्रम्पमाथि बुधबार संसद्‍मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । उक्त हिंसाका क्रममा पाँच जनाको ज्यान गएको थियो । घटनापछि ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालले राष्ट्रपति ट्रम्पका खाता बन्द गरिदिएका छन् ।

हालसम्म कुनै पनि रिपब्लिकन सांसदले ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा मतदान गर्ने भने बताइसकेका छैनन् । रिपब्लिकन सिनेटर प्याट टुमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आग्रह गरेका छन् । उनले भने, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो ।’

देशका लागि त्यो नै सबैभन्दा राम्रो रहेको भए पनि आफूले त्यो सम्भावना नदेखेको उनको भनाइ छ । यसअघि अलास्काकी सांसद लिसा मर्कावस्कीले राष्ट्रपति ट्रम्पलाई पदत्याग गर्न आग्रह गरेकी थिइन् । ट्रम्पलाई राजीनामा दिन आग्रह गर्ने उनी पहिलो रिपब्लिकन हुन् ।

प्रकाशित : पुस २८, २०७७ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?