२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दिल्लीमा पनि बर्ड फ्लु देखियो

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा पनि बर्ड फ्लु देखिएको छ । दिल्लीका मयुर बिहार, सरिता बिहार, सञ्जय ताल र द्वारकामा केही दिनअघि मरेका हाँस र कागहरुको परीक्षण गरिएको थियो । सोमबार बिहान आएको रिपोर्टले ती चराहरुमा बर्ड फ्लु पुष्टि गरेको छ ।

दिल्लीमा पनि बर्ड फ्लु देखियो

बर्ड फ्लु पुष्टि भएसँगै दिल्ली सरकारले पन्छीहरुको आयातमा रोक लगाउने निर्णय गरेको छ । साथै गाजीपुरस्थित मुलुककै ठूलो पोल्ट्री बजारलाई बन्द गरिएको छ ।

सबैभन्दा पहिले हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका १८ सयभन्दा बढी अप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ । त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको आरक्षका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए । त्यस क्षेत्रमा बर्सेनि लाखको हाराहारीमा त्यस्ता चराहरु हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मंगोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गरेका छन् । बर्ड फ्लु पुष्टि भएपछि काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको थियो ।

यसबीच भारतको केन्द्र सरकारले देशभरि नै सावधानी अपनाउन राज्य सरकारहरुलाई विशेष निर्देशन दिएको छ । हालसम्म दिल्लीलगायत ९ वटा राज्यमा बल्र्ड फ्लुको संक्रमण पुष्टि भएको छ । दिल्ली छेउको हरियाणा राज्यमा बल्र्ड फ्लुबाट सबैन्दा बढी चराहरु मरेका छन् । त्यहाँ पछिल्लो केही हप्तामा मात्र चार लाखभन्दा बढी चरा मरेको बताइएको छ ।

बर्ड फ्लु एचफाइभ एन वान जातिको विषाणुको कारण पन्छीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पन्छीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पन्छीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ ।

सन् २००६ मा भारतले वल्र्ड फ्लुका कारण ठूलो क्षति बेहोरेको थियो । खुला सीमामा कारण भारतबाट कुखुरा/हाँस र तिनका चिल्ला र अण्डा चोरीपैठारी हुने गरेको छ । भारतमा बर्ड फ्लु देखिएका कारण त्यसकिसिमको चोरीपैठारी नरोक्ने हो भने नेपालमा पनि यो संक्रमण भित्रिन सक्ने देखिन्छ । सँगै आप्रवासी चराहरुका कारण पनि संक्रमण फैलने जोखिम बढी हुने गरेको छ ।

आप्रवासी चराहरुका लागि नेपालमा पनि गतिलो गन्तव्यका रुपमा चिनिन्छ । नेपालमा पहिलो पटक सन् २००९ मा यो संक्रमण देखिएको थियो । जसका कारण चितवन, धादिङलगायतका जिल्लाका पोल्ट्री व्यवसायमा ठूलो क्षति पुगेको थियो । नेपालमा यो व्यवसायमा मात्र करिब असी अर्बभन्दा बढीको लगानी रहेको छ । यो क्षेत्रको मुलुकको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशतको योगदान छ भने डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ ।

प्रकाशित : पुस २७, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?