इन्डोनेसियामा बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

एजेन्सी

जकार्ता — इन्डोनेसियाली अधिकारीहरूले समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको बताएका छन् । यसअघि जलसेनाले उक्त विमान हराएको ठानिएको स्थान पत्ता लगाएको जनाएको थियो ।

इन्डोनेसियामा बेपत्ता विमानको ब्ल्याक बक्स भएको ठाउँ पत्ता लाग्यो

श्रीविजय एयरजेटको बोइङ ७३७ विमान शनिबार दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६२ जना थिए । कालिमान्तान प्रान्तस्थित पोन्तियानकका लागि उडेको विमान चार मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित करिब एक दर्जन पानीजहाज परिचालन गरिएको थियो ।

विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजय एयरको भनिएको भग्नावशेष सम्हालेर राखेका जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार बिहानैबाट खोजी र उद्धारका प्रयास भइरहेका छन् ।

विमानको भग्नावशेषजस्ता देखिने सामग्रीहरू समुद्रमा फेला परेका जनाइएको छ । ‘हामीले दुई ठाउँमा संकेत प्राप्त गरेका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ खोजी तथा उद्धार निकाय प्रमुखले भनेका छन् । अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्यभागका केही टुक्राहरूको भेटिएको जनाउँदै त्यसको विश्लेषण गरिरहेको बीबीसीले उल्लेख गरेको छ । ‘त्यस्तै उक्त क्षेत्रमा भेटिएका विभिन्न सामग्री राखिएका दुइटा झोला खोज तथा अनुसन्धान निकायले जकार्ता प्रहरीलाई दिएको प्रवक्ता युस्री युनुसले बताए ।

‘एउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका केही अंग छन्,’ उनले भने । श्रीविजया एयरको विमान जकार्ता विमानस्थलबाट शनिबार दिउँसो उडेको ४ मिनेटमै सम्पर्कविहीन भएको थियो । राष्ट्रिय खोजी तथा उद्धार निकायका एक वरिष्ठ अधिकारीका अनुसार विमानले कुनै आपत् परेको सूचित गरेको थियो । प्रत्यक्षदर्शीहरूले सामुद्रिक क्षेत्रमा एक विस्फोट देखिएको र त्यसको केही आवाजसमेत आएको बताएका थिए ।

विमान हराएको क्षेत्रनजिकै बस्ने स्थानीयले केही सामग्री फेला पारेको र त्यो विमानको भएको हुन सक्ने जनाए ।

प्रकाशित : पुस २७, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?