६२ जना सवार इन्डोनेसियाली विमान बेपत्ता

उडेको चार मिनेटमै सम्पर्कविहीन 

‍जकार्ता — इन्डोनेसियाको राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान बेपत्ता भएको छ । विमानमा ५० यात्रु र १२ चालक दल सदस्य थिए ।

६२ जना सवार इन्डोनेसियाली विमान बेपत्ता

इन्डोनेसियाकै वेस्ट कालिमान्ताक प्रान्तको राजधानी पोन्तियानकका लागि उडेको विमान जकार्ताको उत्तरी समुद्रमा खसेको आशंका गरिएको छ ।

भारी वर्षा भइरहेका बेला सुकार्नो हात्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडेको उक्त विमानले चार मिनेटमै सम्पर्क गुमाएको थियो । उडानको विवरण राख्ने फ्लाइटराडार२४ डट कमका अनुसार श्रीविजय एयरको विमान सम्पर्कविहीन हुनुअघि एक मिनेटभन्दा कम समयमै १० हजार फिट तल झरेको थियो । विमानमा सवारको जीवित उद्धार हुने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरूको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । विमानमा ७ बालबालिकासमेत थिए ।

विमान बेपत्ता भएको क्षेत्र नजिकैको टापुका बासिन्दाले पानीमा केही तार र धातुका टुक्रा भेटेर तिनको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । ती सामग्री त्यही विमानको भएको आशंका गरिएको छ । ती सामग्रीको अनुसन्धान नेसनल ट्रान्सपोर्टेसन सेफ्टी कमिटीले गर्ने जनाइएको छ ।

माछा मार्दै गरेका एक व्यक्तिले भने विमान समुद्रमा खसेको देखेको दाबी गरेका छन् । ‘विमान बिजुली चम्किएजसरी समुद्रमा खस्यो र पड्कियो । विमानको एउटा टुक्रा हाम्रो पानीजहाजमा झन्डै ठोकिएको थियो,’ उनले सञ्चारमाध्यमलाई भनेका छन् । इन्डोनेसियाली एयरलाइन्स श्रीविजय एयरले विमानबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । उसले विमान उड्नुअघि राम्रो ‘कन्डिसन’ मा रहेको दाबी गरेको छ ।

बोइङ ७३५–५०० मोडलको उक्त विमान २६ वर्ष पुरानो रहेको जनाइएको छ । उक्त विमानले १ सय ३० जनासम्म बोक्न सक्छ । जकार्ताबाट पोन्तियानक पुग्न विमानलाई करिब ९० मिनेट लाग्छ । सन् २००३ मा स्थापना भएको श्रीविजय एयर ग्रुपले बढीजसो आन्तरिक उडान गर्ने गर्छ । इन्डोनेसियाली सरकारले बेपत्ता विमानको खोजी भइरहेको जनाएको छ । नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सी र नेसनल ट्रान्सपोर्टेसन सेफ्टी कमिटीको समन्वयमा उद्धार तथा खोजी गर्ने टोली परिचालन गरिएको हो ।

प्रकाशित : पुस २५, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?