१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अस्ट्रेलियामा अर्को महिनादेखि खोप अभियान

एक महिनामा ४० लाखलाई पहिलो डोज दिइने
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले मार्चदेखि मात्र सुरु गर्ने भनिएको भ्याक्सिन कार्यक्रम एक महिनाअघि नै सुरु हुन सक्ने बताएका हुन् । खोप दिनका लागि सरकारले विभिन्न ५ तहको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

अस्ट्रेलियामा अर्को महिनादेखि खोप अभियान

अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई मार्चदेखि मात्र सुरु गरिने जनाएको थियो । तर प्रधानमन्त्री मरिसनले बिहीबार पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियाको औषधि विभाग (थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन, टीजीए) ले उपलब्ध धेरै खोपको परीक्षण गरिरहेको र स्वीकृत हुनेबित्तिकै खोप कार्यक्रम सुरु हुने जनाएका हुन् । प्रधानमन्त्री मरिसनले टीजीएमार्फत खोपलाई स्वीकृति प्रदान गर्ने तथा स्वीकृत भएका खोपलाई अस्ट्रेलियासम्म ढुवानी गर्ने कार्यमा तीव्रता दिइएको भए पनि खोप सुरु हुने यकिन मिति भने भनेनन् । तर उनले उच्च प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी लगायतलाई खोप दिने कार्य अर्को महिनाको दोस्रो वा तेस्रो सातासम्ममा सुरु हुने बताए ।

अस्ट्रेलियाले मार्चको अन्त्यसम्ममा ४० लाख अस्ट्रेलियाली नागरिकलाई खोप दिइसक्ने लक्ष्य राखेको छ । प्रधानमन्त्री मरिसनले हरेक साता ८० हजार लाई खोप दिने र त्यसलाई बढाउँदै लैजाने उद्देश्यका साथ कार्यक्रम अघि बढाइएको समेत जानकारी दिए । फाइजर खोपले यही महिनाको अन्त्यसम्ममा पहिलो स्वीकृति पाउने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अस्ट्रेलियाले १० लाख फाइजर खोप खरिद गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाले खोप उपलब्ध गराउने सम्पूर्ण कार्य अपेक्षाभन्दा तीव्र गतिमा गइरहेको भए पनि खोपसम्बन्धी सबै कार्यहरू पूरा गर्न सावधानीका साथ काम गरिरहेको बताए । टीजीएले स्वीकृति दिएपछि थप दुई साता ढुवानीका लागि समय लाग्ने बताइएको छ ।

प्रधानमन्त्रीले विभिन्न पाँच तहको खोप कार्यक्रम सार्वजनिक गरेका छन् । जसअनुसार पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सिमाना तथा क्वारेन्टाइनमा काम गर्ने कर्मचारी, नर्सिङ होममा रहेका वृद्धवृद्धालाई प्राथमिकताका साथ खोप दिइनेछ भने दोस्रो तहमा ७० वर्षमाथिका वृद्धवृद्धा, अन्य स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका रैथाने आप्रवासी नागरिक, प्रहरी, सुरक्षा, आकस्मिक सेवालगायतका क्षेत्रमा काम गर्नेलाई खोप दिइने भएको छ ।

दोस्रो तहको कार्यक्रमसम्ममा १ करोड ४८ लाखसम्मलाई खोप दिइसक्ने योजना बनाइएको छ । यसैगरी ५० वर्षमाथिका नागरिक, उच्च जोखिममा रहेका कर्मचारी, १८ वर्षमाथिका रैथाने आप्रवासी नागरिकलाई प्राथमिकतामा राखिएको छ । अर्को चरणमा खोप पाउन बाँकी रहेका अन्य नागरिकलाई भाइरसविरुद्धको खोप दिइनेछ भने अन्त्यमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई स्वास्थ्य अधिकारीको सल्लाह र सुझावअनुसार खोप दिइनेछ ।

स्थानीय समाचारमा जनाइएअनुसार खोप कार्यक्रम सफल बनाउनका लागि अस्ट्रेलियाभरि १ हजार ‘भ्याक्सिन हब’ को निर्माण गरिने भएको छ । खोप लगाइसकेका नागरिकको तथ्यांक विद्युतीय रूपमा राखिनेछ भने फाइजरपछि अक्सफोर्ड युनिभर्सिटी तथा अस्ट्राजेनेकाद्वारा निर्माण गरिएको खोपले स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाले ५ करोड ४० लाख अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद गर्ने निर्णय गरेको छ जसमा ५ करोड खोप स्थानीयस्तरमा क्युन्सल्यास्डमा नै उत्पादन गरिने बताइएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, विपक्षी दलका नेता, विपक्षी दलका छाया स्वास्थ्यमन्त्रीले समेत पहिलो चरणमै खोप लगाउने बताइएको छ ।

प्रकाशित : पुस २४, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?