कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आज अमेरिकालाई देखेर चीन र रुस हाँसिरहेका होलान् : मार्को रुबियो

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिङ्टनमा हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ । अमेरिकी संसद्‍मा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न प्रक्रिया चलिरहेका बेला ट्रम्पको उक्साहटमा हिंसा भड्किएको भन्दै आलोचना भएको छ ।

आज अमेरिकालाई देखेर चीन र रुस हाँसिरहेका होलान् : मार्को रुबियो

अमेरिकामा मात्रै होइन, हिंसात्मक प्रदर्शनको आलोचना विश्वभरबाट भइरहेको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका नेता तथा पूर्वराष्ट्रपतिले पनि आलोचना गरेका छन् । फ्लोरिडाबाट रिपब्लिकन पार्टीबाट सिनेटरमा निर्वाचित मार्को रुबियोले बुधबार राजधानी वासिङ्टनमा भएको हिंसाको कडा शब्दमा आलोचना गरेका छन् । उनले सदनमा भने, ‘म आफ्नो देश छोडेर अमेरिका आएकाहरुको बीचमा हुर्किएको हुँ । उनीहरु आफ्नो देशको तनावपूर्ण अवस्थाका कारण अमेरिका आएका थिए । त्यस्तै परिस्थिति आज हामीले यहाँ देखेका छौं ।’

उनले अगाडि भनेका छन्, ‘आज रुस र चीनजस्ता देश हामीलाई देखेर हाँसिरहेका होलान् । उनीहरु आजको घटनालाई लिएर अमेरिकाको मजाक उडाउलान् । आज जे भयो, त्यसलाई लिएर म भन्न सक्छु कि आज हामी आफ्नै देशमा लज्जित छौं । मलाई लाग्छ राजनीतिले हामीलाई पागल बनाइदिएको छ ।’

त्यस्तै उनले अमेरिकी एकता र एक अर्काप्रतिको विश्वासले नै अमेरिकाको विगतभन्दा वर्तमान राम्रो भएको उल्लेख गरेका छन् । उनले भने, ‘अमेरिका भनेको राष्ट्रपति मात्रै होइन, अमेरिका भनेको कंग्रेस मात्रै होइन । अमेरिका भनेको परिवार हो । अमेरिका भनेको विश्वास हो । अमेरिका भनेको एकता हो ।’

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वासिङ्टनमा भएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । मोदीले ट्वीट गरेका छन्, ‘वासिङ्टन डीसीमा दंगा र हिंसाको खबर चिन्ताजनक छ । शान्तिपूर्ण तरिकाबाट सत्ताको हस्तान्तरण हुनुपर्छ । लोकतान्त्रिक प्रक्रियालाई गैरकानुनी तरिकाको विरोधद्वारा उल्टाउन दिनुहुन्न ।’

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि अमेरिकी कंग्रेसमा देखिएको दृश्य चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘अमेरिकी कंग्रेसमा देखिएको दृश्य लज्जास्पद छ । अमेरिका पूरा विश्वकै प्रजातन्त्रका लागि चिनिन्छ । अहिले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु निकै महत्वपूर्ण कुरा हो ।’

त्यस्तै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि अमेरिकी राजधानीमा भएको हिंसाको निन्दा गर्दै शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

ट्रम्प समर्थकले भड्काएको हिंसामा मृत्यु हुनेको संख्या ४ पुग्यो

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु


के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

प्रकाशित : पुस २३, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?