कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

साउदीले कतारमाथि लगाएको प्रतिबन्ध हटाउने

एजेन्सी

कुवेत सिटी — साउदी अरबले कतारमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । कुवेतका अनुसार साउदीले कतारको जल तथा स्थल सीमा फेरि खोल्न लागेको हो ।

साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमलाई कुवेती विदेशमन्त्री अहमद नासिर अल–सबाहले टेलिभिजनबाट घोषणा गरेका हुन् । प्रतिबन्ध हटाउने विषयमा कुवेतले लामो समयदेखि मध्यस्थता गर्दै आएको भए पनि परिणाममुखी देखिएको थिएन । यो सहमति गराउन अमेरिकी प्रशासनले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।

साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । साउदी अरबमा मंगलबार सुरु भएको गल्फ कोअपरेसन काउन्सिलको सम्मेलनअघि यो कदम चालिएको हो ।

अमेरिकाका एक वरिष्ठ अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने जनाएका छन् । कतारले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै छिमेकी देशहरूले कतारमाथि साढे तीन वर्षअघि नाकाबन्दी गरेका थिए ।

यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए । तर कतारले भने जिहादी आतंकवादीलाई समर्थन गरेको आरोप खण्डन गर्दै आएको छ । कतारका इमिर तमिम बिन हमाद अल थानीले सम्मेलनमा सहभागी हुन साउदी राजा सल्मानको निम्ता स्वीकारेका बीबीसीले जनाएको छ ।

प्रकाशित : पुस २१, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?