‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्‍न’

एजेन्सी

लन्डन — अमेरिकाविरुद्ध जासुसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्न नसकिने बेलायतका एक न्यायाधीशले बताएका छन् । असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण गर्न नसकिने ती न्यायाधीशको भनाइ छ ।

‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्‍न’

गोप्य कागजात अनलाइनमार्फत सार्वजनिक गरेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लन्डनलाई दबाब दिँदै आएको छ । ‘अस्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिन सक्ने दबाब देखिएकोले मैले उहाँको रिहाइका लागि आदेश दिन्छु,’ जिल्ला न्यायाधीश भेनेसा बारायत्सेरले भने ।

असान्जलाई अमेरिकाले हिरासतमा लिएको भए उनले स्वतन्त्र रूपमा मानिसलाई भेट्न पाउने सम्भावना कम हुने तथा सामाजिक अन्तरक्रियाका लागि कम अवसर मिल्ने उनको भनाइ छ । ‘यसले उहाँको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नुपर्नेछ,’ बारायत्सेरले भने ।

चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारीरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ । यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बारायत्सेरको फैसलालाई अपिल गर्न भने सक्नेछन् ।

असान्ज र उनको कानुनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दाबी गर्दै आएको छ ।

प्रकाशित : पुस २१, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?