इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रण प्रयासका लागि सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् ।

इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

प्रधानमन्त्रीले ८ मिनेट लामो टेलिभिजन सम्बोधनमा करिब डेढ महिना अर्थात् मध्य फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए । इंङ्ल्यान्डमा देशव्यापी लकडाउन भएको यो तेस्रोपटक हो । यसअघि पहिलो चरणमा गत मार्च र दोस्रोपटक नोभेम्बरमा लकडाउन गरिएको थियो ।

जोन्सनले ‘की–वर्कर’ र कन्स्ट्रक्सनका कामदारबाहेक अरूलाई घरैबाट काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घरनजिक शारीरिक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षणजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । प्राथमिक र माध्यमिक विद्यालय तथा कलेज बन्द गरी मंगलबारदेखि अनलाइन कक्षा सुरु र परीक्षा स्थगित गरिने घोषणामा उल्लेख छ ।

बैंक, फार्मेसी, सुपरमार्केट, अफ लाइसेन्स, बिल्डिङ र गार्डेन सेन्टर, कार वास, कार मर्मत पसल, बाइक पसल, लन्ड्री, प्रार्थना वा पूजास्थल भने खुला हुनेछन् । तर रेस्टुरेन्टले टेकवे र डेलिभरीबाहेक अल्कोहल र सिटिङ सर्भ गर्न पाउँदैनन् । हस्पिटालिटी क्षेत्र (होटल, होस्टल, क्याम्प साइट), पर्सनल केयर बिजनेस, ब्युटी सलुन, हेयर ड्ेरसर, मसाज, स्पा, ट्याटु, थोक तथा खुद्रा कपडा पसल, सिनेमा, संग्रहालय, क्यासिनो, चिडियाखाना, आउटडोर जिम, स्केटिङ, बलिङ, गल्फजस्ता खेल गतिविधि आदि बन्द हुनेछन् ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरूप तीव्रतापूर्वक फैलिइरहँदा सोमबार २४ घण्टामा ५८ हजार ७ सय ८४ नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या ५० हजार नाघेको यो लगातार सातौं दिन हो ।

बेलायतमा सोमबार थप ४ सय ७ जनाले ज्यान गुमाएसँगै मृतक संख्या ७५ हजार ४ सय ३१ पुगेको छ । ५० देखि ७० प्रतिशतसम्म संक्रामक नयाँ कोरोना चिन्ताजनक गतिमा फैलिरहेको भन्दै प्रधानमन्त्री जोन्सनले बेलायतका प्रमुख चिकित्सा सल्लाहकार र एनएचएस इङ्ल्यान्ड मेडिकल डाइरेक्टरले देशमा महामारी सुरु भएयताकै पहिलोपटक भाइरस सबैभन्दा उच्च ‘५ अलर्ट’ मा प्रवेश गरेको बताएको जनाए । ‘यसको मतलब अहिले नै कडा कदम नचालिए आउँदो २१ दिनभित्र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अस्तव्यस्त हुन सक्छ,’ उनले सम्बोधनमा भने, ‘यो प्रस्ट छ कि हामीले भाइरसको नयाँ भेरियन्ट नियन्त्रणमा ल्याउन अझ धेरै गर्न आवश्यक छ ।’

बेलायतको लिभरपुलमा कन्सल्टेन्ट एनेस्थेटिस्टका रूपमा कार्यरत डा. शम्भु आचार्यले गत अप्रिल २०२० मा संक्रमण उच्च हुँदा करिब १९ हजार बिरामी अस्पतालमा रहेकामा अहिले त्यो संख्या बढेर २७ हजार पुगेको जनाए । ‘यो संख्या यसरी नै बढेर गए यहाँको राष्ट्रिय स्वास्थ्य सेवालाई आउँदो तीन साता निकै चाप पर्न सक्नेछ,’ उनले कान्तिपुरसँग भने, ‘यद्यपि पछिल्लो ९–१० महिनामा चिकित्सा विज्ञानले यो नयाँ रोगको उपचारमा प्रशस्त विकास र अनुभव बटुलेको छ । साथै बेलायतमा फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोप वितरण भइसकेकाले केही महिनामै स्थिति सुधारिनेमा हामी विश्वस्त छौं ।’

फाइजर, बायोएनटेक खोपको दुवै डोज लिइसकेका आचार्यले आफूलाई कुनै नकारात्मक प्रभाव नपरेको र यो धेरै प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए । बकिङहमसायरमा कार्यरत नर्स अजिता सिम्खडा आफ्नो अस्पताल पनि नराम्रोसँग प्रभावित भएको बताउँछिन् । ‘हाम्रोमा आईसीयू बेड नै खाली छैन् । आईटीयू बिरामीका लागि अप्रेसन थिएटर प्रयोग भइरहेको छ,’ उनले भनिन्, ‘क्यान्सर सर्जरीजस्ता आपत्कालीन बाहेकका सेवा रद्द गरिएको छ ।’

स्कटल्यान्डमा मंगलबारदेखि लागू हुने गरी नयाँ लकडाउन घोषणा भएसँगै अब संयुक्त अधिराज्यका इङ्ल्यान्ड, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्ड गरी चारवटै राज्य लकडाउनको मारमा परेका छन् । यसैबीच, सरकारले कोभिड–१९ खोप वितरण र परीक्षण पनि रफ्तारमा अगाडि बढाएको छ । सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका मिलेर बनाएको खोप सर्वसाधारणलाई दिन सुरु गरिएको छ ।

गत महिना सुरु गरिएको फाइजर बायोएनटेक कोभिड खोप करिब १० लाखले लगाइसकेका छन् । बेलायत सरकारले मध्ये फेब्रुअरीसम्म खोपको १३.९ मिलियन डोज दिइसक्ने लक्ष्य राखेको छ । उता, भाइरस परीक्षणका लागि सरकारले ५ हजारभन्दा बढी सैनिक परिचालनसमेत गरेको छ । विशेष गरी स्कुलमा कोरोना भाइरस परीक्षणमा सेना खटाइएको हो ।

प्रकाशित : पुस २१, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?