अफगान शान्ति वार्ता पुनः सुरु

एएफपी

काबुल — अफगानिस्तानको विद्रोही समूह तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा पुनः वार्ता सुरु भएको छ ।

अफगानिस्तानमा पछिल्लो समय हिंसाका घटना बढ्दै गइरहेका बेला दुई पक्षबीच वार्ता सुरु भएको हो । महिनौंदेखि दुवै पक्षबीच वार्ताको क्रम जारी रहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन । यद्यपि, विगतका वार्ताहरूमा आगामी दिनमा कुराकानी जारी राख्ने सहमति भएको छ ।

सरकारी वार्ताकारहरूले स्थायी युद्धविराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रूपमा जोड दिएका छन् । तालिवान समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिवान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले भने, ‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरू यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’ यसबारे तालिवान समूहले भने कुनै टिप्पणी गरेको छैन ।

अफगान सरकार र तालिवानबीच सन् २०२० को सेप्टेम्बरमा पहिलो पटक प्रत्यक्ष वार्ता सुरु भएको हो । तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो । तर अमेरिकाको कूटनीतिक प्रयत्नपश्चात् दुवै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो ।

गत वर्ष फेब्रुअरीमा तालिवान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मेभित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सुरु भएपछि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरू, अधिकारवादीहरू र पत्रकारहरू लक्षित आक्रमणहरू भइरहेका छन् । काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एकजना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ ।

अफगान अधिकारीहरूले यी आक्रमणमा तालिवान विद्रोहीको संलग्नता रहेको दाबी गर्दै आएका छन् । तीमध्ये कतिपय आक्रमणको इस्लामिक स्टेटले जिम्मेवारी लिएको बताइएको छ ।

‘तालिवानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरूमाथि योजनाबद्ध रूपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोसिस गरिरहेको छ,’ राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जाभिद फैजलले भने, ‘तर यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’

अफगानिस्तान अनुसन्धान तथा मूल्यांकन इकाइका उपनिर्देशक निशंक मोतवानीको भनाइमा तालिवानले औपचारिक रूपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन । तालिवानले आफ्नो उपस्थिति बलियो देखाउन कुनै कसर बाँकी नराखेका दाबी मोतवानीको छ ।

तालिवानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताएका छन् । गत वर्षको पहिलो ९ महिनामा २ हजार १ सय ७७ जनाको हत्या भएको र ३ हजार ८ सय २२ जना घाइते भएका थिए ।

अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् । तर वार्ताबेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न । ‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिन्जेल गुमाउँदै जानुपर्ने हो ?,’ काबुल निवासी जमसिद मोहम्मदले बताए ।

प्रकाशित : पुस १९, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?