सिनोफार्मको कोरोना खोपलाई चीनमा अनुमति

एएफपी

बेइजिङ — चीन सरकारले सिनोफार्म कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । सिनोफार्मका अनुसार यो खोप कोरोना भाइरसविरुद्ध ७९ प्रतिशत प्रभावकारी पुष्टि भएको छ ।

सिनोफार्मको कोरोना खोपलाई चीनमा अनुमति

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्त्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोरोनाविरुद्धको खोप आपत्कालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको जनाइएको छ । खोप दिइएकाहरूमा खास गरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सिनोफार्मले बुधबार आफूले विकास गरेको खोप ७९.३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्युटिकल कम्पनीहरू फाइजर र मोडर्नाले विकास गरेका खोपहरू क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चिनियाँ स्वास्थ्य प्रशासनका उपआयुक्त चेन सिफीले संवाददाताहरूसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘ससर्त’ अनुमति दिइएको बताए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरू वृद्धवृद्धा र अरू जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने बताए । चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, ‘कोभिड–१९ बाट सुरक्षित रहन कुल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ र हामी त्यसैको तयारीमा छौं ।’

बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीन सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोप देशभित्रै उत्पादन गरिने बताउँदै आएको छ ।

प्रकाशित : पुस १७, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?