१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्रम्प प्रशासनद्वारा सुरक्षा निकायमा क्षति : बाइडेन

एजेन्सी

वासिङ्टन — अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरक्षा निकायहरूमा ‘व्यापक क्षति’ पुर्‍याएको बताएका छन् । आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायहरूबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनको आरोप छ ।

ट्रम्प प्रशासनद्वारा सुरक्षा निकायमा क्षति : बाइडेन

राष्ट्रिय सुरक्षा र विदेश नीति हेर्ने उनका सल्लाहकारहरूसगको छलफलपछि बाइडेनको भनाइ सार्वजनिक भएको हो ।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन् । अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा बाइडेन विजयी भएका हुन् ।

त्यहाँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि महत्त्वपूर्ण सूचनाबारे जानकारी गराइने प्रचलन भए पनि चुनाव भएको करिब डेढ महिनासम्म पनि बाइडेनलाई त्यस्ता गतिविधिमा सामेल गराइएको थिएन । यस विषयमा ट्रम्प प्रशासनले तत्काल प्रतिक्रिया जनाएको थिएन ।

सल्लाहकारहरूसँगको साक्षात्कारपछि सार्वजनिक एक भिडियोमा बाइडेनले आफ्नो टोलीले रक्षा मन्त्रालय र बजेट व्यवस्थापन गर्न कार्यालयमा कठिनाइ भोगेको बताएका हुन् । ‘बाहिरिँदै गरेको प्रशासनबाट हामीले आवश्यक राष्ट्रिय सुरक्षाबारे महत्त्वपूर्ण जानकारीहरू पाइरहेका छैनौं,’ बाइडनेले भने, ‘यो मेरो बुझाइमा गैरजिम्मेवारीपन हो ।’

तर गत साता पेन्टागनले समाचार संस्था रोयटर्सलाई आफूहरूले कैयौं अन्तर्वार्ता गरेको र सूचना दिने अनि बैठक गर्ने काम जारी राख्ने प्रतिक्रिया दिएको थियो । पेन्टागनका प्रवक्ताले आफूहरु यस मामलामा पूर्णरूपमा पारदर्शी रहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपतीय निर्वाचनको एक महिनापछि ट्रम्प संक्रमणकाल अन्त्यको प्रक्रिया औपचारिक रूपमा सुरु गर्न सहमत भएका थिए । त्यतिबेला बाइडेनले संक्रमणकाल अन्त्यका लागि सहयोग गरेको भन्दै ट्रम्पको प्रशंसा गरेका थिए ।

बाइडेनको भनाइ सार्वजनिक भएसँगै कार्यवाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले ‘संक्रमणकालीन क्रियाकलापलाई सहयोग गर्न अधिकारीहरुले निकै राम्रो कार्य गरेका’ दाबी गरेका छन् । ‘रक्षा मन्त्रालयले ४ सय अधिकारीसँग १ सय ६४ वटा अन्तर्वार्ता लिएर ५ हजार पेजभन्दा बढी विवरण उपलब्ध गराएको छ । जुन बाइडेनले आग्रह गरेको भन्दा निकै बढी हो,’ मिलरले भने ।

जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गरेसँगै पूर्णरूपमा काम गर्न सकियो भनेर बाहिरिन लागेको राष्ट्रपति प्रशासननले नवनिर्वाचितलाई महत्त्वपूर्ण सूचना उपलब्ध गराउने कार्य नै संक्रमणकालीन प्रक्रिया हो । यो प्रक्रियामा खासगरी राष्ट्रपतिमा निर्वाचितलाई सुरक्षा तथा विदेश मामिलाका विषयसँग सम्बन्धित निकै महत्त्वपूर्ण तथा संवेदनशील सूचनाबारे जानकारी गराइन्छ ।

राष्ट्रपतीय निर्वाचनलगत्तै ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका थिए । उनी सन् २०१९ मा रक्षामन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित : पुस १५, २०७७ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?