कहिले खुल्ला विदेशी विद्यार्थीलाई अस्ट्रेलिया ?

विभिन्न विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई क्रमिक रुपमा आउन दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् । जुलाईअघि विद्यार्थीहरु अस्ट्रेलिया आउने सम्भावना भने न्यून छ ।
नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा अध्ययनरत नमिता पनेरुका श्रीमान् कोरोना भाइरसको प्रकोप फैलिनुअघि नै नेपाल गएका थिए । तर भाइरस फैलिएसँगै अस्ट्रेलियाले अस्थायी भिसा वाहकलाई प्रवेशमा प्रतिबन्ध लगाएपछि उनी उतै अड्किए । त्यस्तै गत जुलाईदेखि पढाइ सुरु गर्ने गरी विद्यार्थी भिसा पाएका झापाका महेश ओडारी पनि यात्रा प्रतिबन्ध खुल्ने बाटो हेरेर बसेका छन् ।

कहिले खुल्ला विदेशी विद्यार्थीलाई अस्ट्रेलिया ?

कोरोनाको संक्रमण फैलिएसँगै अस्ट्रेलियाले मार्च तेस्रो सातादेखि अस्थायी भिसा वाहकलाई विशेष अनुमतिपत्रबिना प्रवेशमा निषेध गरेको छ । जसका कारण सयौं नेपाली विद्यार्थी मात्र नभएर दसौं हजार अन्य विदेशी विद्यार्थीसमेत आउन पाएका छैनन् । तर यसै क्षेत्रमा काम गरिरहेका विज्ञले भने अस्ट्रेलियाले अब धेरै लामो समयसम्म बन्द नगर्ने दाबी गरेका छन् । एकातिर चीनसँगको बिग्रँदो सम्बन्ध जसले ठूलो संख्यामा चिनियाँ विद्यार्थी संख्या कम हुने देखिएको छ भने लामो समय बन्द गर्दा अस्ट्रेलिया आउन चाहने विद्यार्थी क्यानाडा, बेलायतलगायतका देशमा जाने भएकाले समेत अस्ट्रेलियाले केही महिनाभित्रैमा क्रमिक रूपमा प्रतिबन्ध हटाउने सम्भावना छ ।

अस्ट्रेलिया सरकारलाई क्रमिक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी आउन दिनुपर्ने सुझाव यहाँका विश्वविद्यालयले समेत दिइरहेका छन् । यसैगरी अर्थतन्त्रमा वार्षिक करिब ३७ विलियन डलर योगदान दिने विदेशी विद्यार्थीको आगमनमा लामो समय प्रतिबन्ध गर्दा अर्थ व्यवस्थामा समेत नकारात्मक असर पर्ने विश्लेषण गरिँदै आएको छ । सरकारले अहिले तत्कालै अस्थायी भिसा वाहकलाई आउन दिनेबारेमा केही खुलस्त नपारे पनि नमुना कार्यक्रमका रूपमा केही महिनाअघि करिब ६५ विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको डार्बिन भित्र्याएको थियो । नमुना कार्यक्रमलाई अन्य राज्यमा समेत विस्तार गर्नुपर्ने मागसमेत उठेको छ ।

अस्ट्रेलियाको विश्वविद्यालयमा सामान्यतया मार्च र जुलाईको शैक्षिक सत्रलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । त्यसैले पनि यस क्षेत्रमा काम गरिरहेकाहरू कम्तीमा पनि जुलाईको शैक्षिक सत्रका लागि भने विदेशी विद्यार्थी आउने सम्भावना देख्छन् । अर्कोतिर बेलायत, अमेरिका, युरोपलगायत विभिन्न देशमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरु भएपछि अस्ट्रेलियाले विदेशी विद्यार्थी र अस्थायी भिसा वाहकलाई भित्र्याउन प्रोत्साहित गर्ने दाबी गरिएको छ ।

कहिले आउन पाउलान् नेपाली विद्यार्थी ?

अस्ट्रेलियास्थित कानुन व्यवसायी (सोलिसिटर) सञ्जीव पाण्डे केही नेपाली विद्यार्थी आगामी जुलाईको शैक्षिक सत्रको अध्ययन गर्न आउन सक्ने सम्भावना देख्छन् । अस्ट्रेलियाले मार्चदेखि खोप सुरु गर्ने भनिसकेकाले विदेशी विद्यार्थी आउन सहज हुने उनको विश्लेषण छ । ‘यही जुलाईदेखि नै सबै नेपाली विद्यार्थी आउन पाउलान् भन्न त सकिन्न तर क्रमिक रूपले नेपाली विद्यार्थी आउने आशा गर्न सकिन्छ,’ पाण्डेले भने । नेपाली विद्यार्थी अस्ट्रेलियाली विश्वविद्यालय र अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएकाले अस्ट्रेलियाले विदेशी विद्यार्थीको यात्रा प्रतिबन्ध खुकुलो पारेमा नेपाली विद्यार्थीसमेत लाभान्वित हुने उनको भनाइ छ । उनी अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थी अन्य देशमा जान सक्ने सम्भावना रहेकोतर्फ अस्ट्रेलिया जानकार रहेकाले यो प्रतिबन्ध धेरै लामो नरहने उनको दाबी छ । ‘यहाँ अध्ययन गर्न आउने विद्यार्थी बेलायत, क्यानाडा, अमेरिकालगायतका देशमा आकर्षित भए भने आफैंलाई घाटा हुन्छ भनेर सरकारले बुझेको छ ।’

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा विगत ५ वर्षदेखि नेपाल टप १० मा पर्दै आएको छ । झन् पछिल्लो ३ वर्षदेखि त नेपाली विद्यार्थीको संख्या तेस्रो स्थानमा छ । अर्कोतिर नेपाली विद्यार्थी शैक्षिकस्तरमा समेत राम्रो गर्ने र सामाजिक रूपले समेत मिलनसार मानिने भएकाले यात्रा प्रतिबन्ध हटेसँगै नेपाली विद्यार्थीले समेत प्राथमिकता पाउने सम्भावना छ । तर पनि अहिलेसम्म सरकारले कुनै निर्णय गरिनसकेकाले कहिलेदेखि आउने भन्नेबारेमा भने कुनै टुंगो लागिसकेको छैन ।

कोभिडपछि विद्यार्थी भिसा सहज होला ?

कोरोना भाइरसका कारण अर्थ व्यवस्थामा नराम्रो असर गरेकाले अस्ट्रेलियाले विद्यार्थी भिसा र अन्य अस्थायी भिसा सहज दिने अनुमान अधिकांश नेपालीको छ । तर यस क्षेत्रमा काम गरिरहेकाहरू भने यो हल्लामात्र भएको र अस्ट्रेलियाले भिसा दिने आफ्नो न्यूनतम मापदण्डमा कुनै फेरबदल नगर्ने सुनाउँछन् ।

अस्ट्रेलियास्थित नेपाली विद्यार्थी परामर्शदाताको संगठन (एका) का अध्यक्ष भूपाल सिटौला अस्ट्रेलियाले मुख्य गरेर नेपालबाट आउने विद्यार्थीको अध्ययन र आर्थिक कुरा हेर्ने भएकाले त्यसमा कुनै फेरबदल नहुने दाबी गर्छन् । उनी नेपाली विद्यार्थी अस्ट्रेलियाको शैक्षिक व्यवसायमा प्राथमिकतामा नरहेको र मुख्य गरेर आफ्नो देश र नागरिकको सुरक्षामा अस्ट्रेलिया केन्द्रित भएकाले नेपाली विद्यार्थी चाँडै आउने सम्भावना नरहेको देख्छन् । ‘हो अस्ट्रेलियामा गत वर्षदेखि नै नयाँ विद्यार्थी भित्र्याउन नपाएकाले केही सहजता अपनाउन भने सक्छ तर आफ्नो न्यूनतम मापदण्डलाई नै मिचेर भिसा दिन्छ भन्नु हल्ला मात्र हो,’ सिटौलाले भने । उनी नेपाली विद्यार्थीको संख्या अघिल्ला वर्षको तुलनामा केही बढ्न सक्ने भए पनि अब जोसुकै आउन सकिन्छ र अस्ट्रेलियाले सजिलै भिसा दिन्छ भनेर सोच्नु गलत भएको बताउँछन् ।

प्रकाशित : पुस १४, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?