खोपबारे ‘भ्रामक समाचार’ लेख्‍ने पक्राउ

(एजेन्सी)

अम्मान — कोरोना भाइरसको खोप जोर्डनमा उपलब्ध भएको र सरकारी अधिकारीहरूले लगाइसकेका जनाउँदै भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । अधिकारीहरुका अनुसार पत्रकार जमाल हद्दादबारे थप अनुसन्धान भइरहेको छ ।

खोपबारे ‘भ्रामक समाचार’ लेख्‍ने पक्राउ

‘सरकारी अधिकारीहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएको भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पत्रकार जमाल हद्दादलाई पक्राउ गर्ने आदेश दिइएको छ,’ राज्य सुरक्षा अदालतका अभियोजनकर्ताहरूले बताएका छन् ।

एएफपी समाचार संस्थाले सरकारी अधिकारीलाई उद्दृत गर्दै उनीमाथि देशको सुरक्षालाई नै खतरामा पार्ने र राष्ट्रघाती काम गरेको आरोप लगाइएको जनाएको छ । मुद्दाको सुनुवाइका लागि पत्रकारलाई १५ दिनसम्म नजरबन्द राख्ने आदेश दिइएको छ ।

अल–वाकाईले मंगलबार प्रकाशित एउटा लेखमा ‘जनतालाई खोपको व्यवस्था के हुन्छ ? के फाइजर (खोप) गोप्य रूपमा आएको थियो, र जोर्डन सरकारका वरिष्ठ अधिकारीहरूलाई खोप दिइयो ? भन्नेबारे समाजलाई भड्काउने किसिमको समाचार सम्प्रेषण गरेको थियो ।

जोर्डनले डिसेम्बरको मध्यतिर फाइजर–बायोएनटेक कोरोनाभाइरस खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारी वाएल अल–हयाज्नेले बुधबार यो खोप जनवरी अन्त्य वा फेब्रुअरी सुरुसम्ममा देशभित्र आइपुग्ने बताएका छन् ।

समाचारमा खोप आइसकेको र उच्च पदस्थ अधिकारीले यसको प्रयोग गरिरहेको उल्लेख गरिएकोले यसले समाजलाई सरकारविरोधी गतिविधिमा उत्साहित गर्न भड्काउने दाबी गरिएको छ ।

उक्त देशका पत्रकारहरूको संगठनले हद्दादको तुरुन्त रिहाइको आह्वान गर्दै उनको गिरफ्तारीले ‘जोर्डनको छविलाई हानि पुर्‍याएको’ दाबी गरेको छ । पत्रकारको बिनासर्त रिहाइका लागि पनि संगठनले आग्रह गरेको छ ।

प्रकाशित : पुस ११, २०७७ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?