बेलायतका अस्पताललाई संक्रमित थेग्न सकस

नवीन पोखरेल

लन्डन — लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टका क्लिनिकल डिरेक्टर डा. मोहन थापालाई अहिले कामको चापले एकछिन फुर्सद छैन । आफ्नो अस्पतालमा कोरोना भाइरसको पहिलो लहर अप्रिलको ‘पिक’ भन्दा बढी बिरामी भर्ना हुँदा उनलाई भ्याइनभ्याइ छ ।

बेलायतका अस्पताललाई संक्रमित थेग्न सकस

‘पहिलोपटक एनएचएस कोभिड हस्पिटलका रूपमा परिणत भएका थिए । बहिरंग, अप्रेसन र अरू सेवा बन्द गरेर कोभिड बिरामीमात्र जाँचिएको थियो । तर यसपटक अन्यसहित कोभिड बिरामीले अस्पताल भरिभराउ छ,’ डा. थापाले कान्तिपुरसँग भने, ‘जाडो याम यसै पनि प्रेसर हुने समय हो । त्यसमाथि जनशक्ति अभाव र कोरोना भाइरस तीव्र फैलिरहँदा अहिले बेलायतका अस्पतालले भार खेप्न सकिरहेका छैनन् ।’

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर उच्च विन्दुमा पुगिरहँदा इंग्ल्यान्डका करिब ९० प्रतिशत बेड भरिइसकेका बताइएको छ । अग्रपंक्तिमा कार्यरत चिकित्सकहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् ।

दक्षिण इंग्ल्यान्डमा अस्पताल भर्ना हुनेको संख्या वृद्धि भइरहेको छ । त्यसो त बेलायतको राजधानी लन्डनमा मात्र एक साताभित्र ६० हजार बढी संक्रमण पुष्टि भएको छ । एक सरकारी तथ्यांकअनुसार डिसेम्बर १९ सम्म तीन दिनमा १ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पताल भर्ना भए । दक्षिण–पश्चिम लन्डनको टुटिङस्थित सेन्ट जोर्ज, क्यामडेनको रोयल फ्री, पूर्वी लन्डनमा कैयौं अस्पताल सञ्चालन गर्ने बार्टस हेल्थ एनएचएस ट्रस्ट, बार्किङ, हेभरिङ र रेडब्रिज ट्रस्टले कोभिड चापका कारण अप्रेसन रद्द गरेका छन् ।

क्यालडरडेल एन्ड हडर्सफिल्ड, पोर्टसमथ हस्पिटल्स युनिभर्सिटी र स्यान्डवेल एन्ड वेस्ट बर्मिङ्घम गरी तीनवटा ट्रस्टले डिसेम्बर १३ भित्र आफ्ना सबै क्रिटिकल केयर बेड भरिइसकेको बताएका छन् । इंग्ल्यान्डमा मंगलबार मात्र थप १ हजार ८ सय ७५ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका थिए ।

हाल बेलायतमा देखिएको नयाँ किसिमको भाइरस ‘भीयूआई २०२०१२०१’ यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताएका छन् । बुधबार मात्र बेलायतमा कोरोना संक्रमितको संख्या ३९ हजार बढी र ७ सय ४४ जनाको मृत्यु भएको थियो ।

डा. थापाका अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले गत जुलाईदेखि काममा जाने स्वास्थ्यकर्मीको जोखिम बुझ्न ‘अकुपेसनल कोभिड रिस्क एसेसमेन्ट’ गर्न थालेपछि ६० वर्षमाथिका, मधुमेह, मुटु वा अन्य दीर्घरोगबाट समस्या हुने चिकित्सक, नर्सहरु काममा छैनन् । अहिले स्वास्थ्यकर्मी र अग्रपंक्तिका कामदारको सेल्फ टेस्टिङ (आफैंले कोभिड परीक्षण गर्ने) नियम लागू भएकाले आइसोलेसन बस्ने डाक्टर, नर्स पनि उत्तिकै छन् । यसले पनि जनशक्ति अभाव थप बढेको हो ।

इंग्ल्यान्डमा स्वास्थ्य प्रणालीमा काम गर्ने स्वतन्त्र थिंक ट्यांक किङस्फन्डका अनुसार बेलायतमा ३८ हजार नर्सिङ वर्कफोर्सको भ्याकेन्सी छ भने ब्रिटिस मेडिकल एसोसिएसन (बीएमए) को तथ्यांकमा ८ हजारभन्दा बढी मेडिकल डक्टर अभाव छ । जनशक्ति अभावले पनि ‘विन्टर प्रेसर’ खेप्न अस्पताललाई सास्ती छ ।

असहज परिस्थितिबीच अस्पतालहरुमा पहिलेजस्तो व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव नभएको र कोभिड खोप दिन सुरु भइसकेकाले आशावादी हुने ठाउँ भने रहेको थापाले बताए ।

बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएपछि विश्वका नेपालसहित झन्डै ५० बढी देशले यहाँबाट जाने उडानमा प्रतिबन्ध घोषणा गरेका छन् ।

प्रकाशित : पुस ९, २०७७ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?