युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति

ददि सापकोटा

काठमाडौँ — युरोपेली युनियनले अमेरिकी फाइजर र जर्मन बायोएनटेक कम्पनीले उत्पादन गरेको कोरोना खोप प्रयोगमा ल्याउन अनुमति दिएको छ ।

युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति

युनियनअन्तर्गतका सबै देशमा औषधि र खोपको अनुगमन तथा स्वीकृति दिने युरोपेली मेडिसिन एजेन्सी (ईएमए) ले खोप पारित गरेपछि युनियनले बजारमा लैजान अनुमति दिएको हो । खोप अभियान डिसेम्बर २७ बाट युरोपभर एकसाथ सुरु गरिँदै छ ।

युनियनले खोप बजारमा लैजान स्वीकृति दिएकोमा फ्रान्सका प्रधानमन्त्री जा कास्तेक्सले बधाई दिएका छन् । फ्रान्सले आगामी जनवरी १ देखि देशभरिका वृद्धाश्रममा यो खोप पुर्‍याउने तयारी गरेको फ्रान्स १ टिभीले जनाएको छ । समाचारमा उल्लेख गरिएअनुसार खोपको पहिलो खेप बेल्जियमले युरोपभरि पठाउने छ । ठूलो मात्रामा खोप उत्पादन गर्ने फाइजर र बायोएनटेक दुवै कम्पनी बेल्जियममै छन् । त्यसैले खोपको बजारीकरण र वितरण बेल्जियमले नै गर्ने भएको हो । खोपका लागि आवश्यक चिस्यान केन्द्र, बरफ उत्पादन केन्द्र युरोपमै सबैभन्दा बढी बेल्जियममै छन् । फाइजर र बायोएनटेकले उत्पादन गर्ने खोपमध्ये दुई भाग बेल्जियमकै कम्पनीले उत्पादन गर्छन् । यद्यपि सबै नागरिकलाई एकैचोटि पुग्ने गरी खोप उत्पादन भइनसकेकाले चरणबद्ध रूपमा लगाउन लागिएको छ ।

हाल बेल्जियममा कोरोना खोप उत्पादनमा छ कम्पनीहरू सक्रिय छन् । तिनले हरेक दिन २० लाख डोज खोप उत्पादन गरिरहेका छन् । युरोपेली युनियनले सन् २०२१ का लागि थप ३० करोड डोज खोप बुक गरिसकेको छ । ती खोप अन्य मुलुकमा बिक्री गर्न अग्रिम माग गरिएको अनुमान विश्लेषकहरूले गरेका छन् ।

यसैबीच फ्रान्सले बेलायतको डोभरबाट काले क्षेत्रमा भित्रिने ट्रकहरूमाथि प्रतिबन्ध लगाइदिएको छ । बेलायतमा कोरोना भाइरस नयाँ स्वरूप फैलन थालेको भन्दै आवागमनमा प्रतिबन्ध लगाइएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । हरेक दिन बेलायतबाट फ्रान्सको सीमा हुँदै युनियनअन्तर्गतका देशमा भित्रिने लगभग १० हजार मालवाहक ट्रकले अत्यावश्यक औषधि र खाद्य सामग्री ओसार्थे । प्रतिबन्धपछि औषधि र अन्य खाद्य वस्तुको संकट उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित : पुस ७, २०७७ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?