अफगानिस्तानको विस्फोटमा १५ बालबालिकाको मृत्यु

(एजेन्सी)

काबुल — अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार गराइएको विस्फोटमा कम्तीमा १५ जना बालबालिकाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार कम्तीमा २० जना घाइते छन् ।

गिलान जिल्लामा गराइएको विस्फोटको कारण थाहा हुन नसकेको जनाइएको छ । प्रहरीका अनुसार एक रिक्साको पछिल्लो भागमा राखिएको बम शनिबार दिउँसो विस्फोट भएको हो । तर स्थानीयका अनुसार बालकालिकाले एउटा बम फेला पारेपछि नजिकैको पसलमा बेच्न लैजाने क्रममा विस्फोट भएको हो ।

गजनीका प्रान्तीय गभर्नरका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले ‘एक रिक्सा चालकले गाउँतर्फ लैजाँदै गरेको बम बालबालिकाले घेरेपछि विस्फोट भएको’ जनाएका छन् । उनले विस्फोटमा मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।

प्रहरी प्रवक्ता अहमद खानले समाचार संस्था एएफपीसँग कुरा गर्दै विस्फोटका लागि तालिवान जिम्मेवार रहेको आरोप लगाएका छन् । तालिवान विद्रोहीले दुर्घटनाबस विस्फोट भएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बालकालिकाले नजिकैको पसलमा बम बेच्न लगेका कारण विस्फोट भएको बताएका छन् । उनले विस्फोटमा १२ जना बालकालिकाको मात्र ज्यान गएको दाबी गरेका अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

कतारको दोहामा अफगान सरकार र तालिवान विद्रोही समूहबीच शान्तिवार्ता भइरहेका बेला हिंसात्मक घटनामा वृद्धि भएको हो । पछिल्ला केही साताहरूमा राजधानी काबुलसहित देशका अन्य केही स्थानमा गरिएका आक्रमणमा परी ७० जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । तीमध्ये केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । अफगान अधिकारीहरूले कतिपय घटना तालिवानले गराएको दाबी गरेका छन् । तर विद्रोही समूहले यसअघि भएका आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

तालिवान र अफगान सरकारबीच गत सेप्टेम्बरमा नै औपचारिक वार्ता सुरु भएको हो । तर शान्तिवार्ताको ढाँचाबारे दुई पक्ष अझैसम्म पनि सहमतिमा पुग्न सकेका छैनन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तान र इराकमा रहेका अमेरिकी सेनाको संख्या २ हजार ५ सयमा सीमित पार्ने योजना रहेको जनाएको थियो । तर उक्त योजना सार्वजनिक गरिएसँगै राष्ट्रपति ट्रम्पकै दलका नेताहरू असन्तुष्ट बनेका छन् । इराक तथा अफगानिस्तानमा अमेरिकाले गरेको सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको राष्ट्रपति ट्रम्पको दाबी छ ।

प्रकाशित : पुस ४, २०७७ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?