अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको इलेक्टोरल कलेजद्वारा पुष्टि- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको इलेक्टोरल कलेजद्वारा पुष्टि

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुले राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् । यसलाई अमेरिकी राष्ट्रपति चुनावलाई औपचारिक मान्यता दिने अन्तिम चरणका रुपमा लिइन्छ ।

तस्बिर : रोयटर्स

गत नोभेम्बरमा भएको चुनावमा ३०६ इलेक्टोरल मतसहित जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २३२ इलेक्टोरल मत प्राप्त गरेका थिए ।

अमेरिकी चुनावप्रणालीअनुसार मतदाताले देशभरबाट ५३८ इलेक्टर चुन्छन् । ती इलेक्टरले चुनावपछि राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा मत दिने गर्छन् ।

बाइडेनको जित औपचारिक रुपमै पुष्टि भए पनि ट्रम्पले भने आफ्नो हार सहज रुपमा स्वीकार गर्ने देखिएको छैन । अझै पनि उनले चुनावमा धाँधली भएको आधारहीन आरोप लगाइरहेका छन् ।

सामान्यतया इलेक्टरहरुको खासै चर्चा नहुने भए पनि यस वर्ष ट्रम्पले चुनावी नतिजा उल्ट्याउने चेतावनी दिएका कारण अर्थपूर्ण रुपमा हेरिएको थियो । इलेक्टोरले कलेजले आफ्नो पक्षमा ३०६ मत हालेपछि बाइडेनले चुनावी नतिजा उल्ट्याउने ट्रम्पको प्रयास अतिवादी कदम भएको प्रतिक्रिया दिएका छन् । यस्तो खालको कदम यसअघि कहिल्यै नदेखेको उल्लेख गर्दै बाइडेनले चुनावी नतिजा उल्ट्याउने प्रयासलाई रोकेकोमा सर्वोच्च अदालतलाई समेत धन्यवाद दिएका छन् ।

इलेक्टोरल कलेजको भोट गणनाका लागि अब कंग्रेसमा पठाइन्छ । अर्को महिना औपचारिक रुपमा त्यसको गणना र घोषणा हुनेछ । आगामी जनवरी ६ मा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा बस्ने संयुक्त सत्रमा यसको औपचारिक रुपमा गणना हुनेछ । त्यसपछि जो बाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा शपथ लिनेछन् ।

प्रकाशित : मंसिर ३०, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

एलपीएल फागुनमा, पुरस्कार रकम घटाइयो

कान्तिपुर संवाददाता

धनगढी — क्रिकेटको सहर धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) पछिको दोस्रो ठूलो लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) फागुन अन्तिम साता हुने भएको छ ।

आयोजक टिमका अध्यक्ष रामचन्द्र शाहीले कोभिड–१९ को माहामारीको अवस्था सामान्य अवस्थामा फर्केपछि फागुन अन्तिम साता एलपीएल गर्ने गरी तयारी भइरहेको बताए । ‘आयोजनाका लागि प्रायोजक खोज्नेदेखि खेलाडीको बन्दसत्र राख्नेसम्मको तयारीमा जुटिसकेका छौं,’ उनले भने, ‘कोभिड–१९ को असरले पुनः देश लकडाउनको अवस्थामा फर्केमात्रै रोक्न सकिन्छ । नत्र जसरी पनि आयोजना गर्ने तयारीमा छौं ।’

उनले हरेक संस्करणमा पुरस्कार राशि बढाउँदै गएका बेला कोभिड–१९ का कारण एलपीएलको पुरस्कार राशि घट्ने जानकारी दिए । गत वर्ष एलपीएल विजेताले दुई लाख र दोस्रोले एक लाख रुपैयाँ पुरस्कार पाएका थिए । कोभिडका कारण पाँचौं संस्करण विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् । ‘प्रतिकूल अवस्थामा पनि एलपीएलले निरन्तरता पाओस् भनेर पुरस्कार राशि घटाएका छौं,’ उनले भने, ‘खेलकुद गतिविधि ठप्प भएका बेला यो प्रतियोगिताले खेलाडीलाई अवसर प्रदान गर्नेछ ।’ क्रिकेटप्रेमीका लागि बहुचर्चित धनगढी क्रिकेट प्रिमियर लिगको आर्कषणसँगै क्रिकेटको सहर धनगढीमा हरेक वर्ष तिहारपछि एलपीएल आयोजना हुँदै आएको थियो ।

टिममा देशका यू–१९ का राष्ट्रिय खेलाडीको सहभागिता बढाएर आकर्षण र रोमाञ्चकारी बनाउँदै लगेको छ । यो संस्करणमा पनि विभिन्न कलेजको टिमबाट यू–१९ का खेलाडीको सहभागिता हुने जनाइएको छ । उनले एलपीएलको नियमअनुसार एउटा विद्यालय तथा कलेज टिमले यू–१९ का चार खेलाडीसम्म अनुबन्धन गर्न पाउनेछन् । खेलाडी उत्पादन गर्ने प्रतियोगिताका रूपमा समेत एलपीएललाई सम्झनुपर्ने आयोजक शाही बताउँछन् । ‘देशका प्रतिष्ठित विद्यालयको टिमबाट यू–१९ का खेलाडीको बेजोड प्रस्तुतिले प्रतियोगिता आकर्षक र रोमाञ्चकारी बनाउने छ,’ उनले भने, ‘यू–१९ का खेलाडीसंँग विद्यालयस्तरका खेलाडी राख्न पाउँदा राम्रा खेलाडी उत्पादन हुने मौका मिल्दछ ।’

प्रकाशित : मंसिर ३०, २०७७ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×